अध्यक्ष ठाकुर भन्छन्- राजेन्द्र महतो लोसपाबाट स्वतः निष्कासित भए

नेपालभ्युज

अध्यक्ष ठाकुर भन्छन्- राजेन्द्र महतो लोसपाबाट स्वतः निष्कासित भए

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्कासित  भएको बताएका छन् । बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले पार्टीका पूर्वनेता राजेन्द्र महतोले पार्टी छोडेर गएको भन्दै उनी स्वतः निष्कासित  भएको बताएका हुन् ।

उनले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताए । उनले महतोले मधेसको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेस प्रदेश सरकारमा पार्टी सहभागि भएको बताए ।

‘आफैँ गइसकेपछि स्वभाविक रुपमा पार्टीबाट निष्कासित पनि हुनुभएको छ । चित्त नबुझ्ने गएपछि त हित नै हुन्छ हाम्रो । उहाँमाथि त प्रभाव पर्छ, पर्छ । मधेसमाथि कस्तो प्रभाव पर्छ हेर्न बाँकी छ । किनकी मधेशको मात्रै कुरा गर्नुभएको छैन उहाँ’ उनले भने, ‘उहाँ आफैँ कार्यक्रम गरेर घुमिरहनुभएको छ । त्यसको अर्थ स्वतः पार्टीमा नरहेको हो । प्रदेश र संघ अलग–अलग कुरा हो । सबै ठाउँमा प्रदेशलाई संघको दृष्टिमै हेर्नु हुँदैन । मधेस प्रदेश सरकारमा अहिलेसम्म हामी छौँ ।’

लोसपाको केन्द्रिय समितिको बैठकले सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौताले मुलुकलाई व्यापक हित भएको निष्कर्ष निकाल्दै सो सम्झौताको स्वागत गरेको छ । त्यस्तै भारतले नेपालको पूर्वाधार विकासमा दिँदै आएको अनुदानलाई ५ करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याएको  पनि सो निर्णयलाई लोसपाले स्वागत गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । त्यस्तै बैठकले बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको पनि उनले जानकारी दिए ।

त्यस्तै लोसपाले नागरिकता समस्या समाधान गर्न सरकार समक्ष माग गरेको छ । बैठकले मधेश आन्दोलनमा सहभागि नेता, कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रह अनुसार बन्दी बनाइएको भन्दै त्यसको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पनि गरेको । बैठकले विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी, उच्च पदस्थ पदाधिकारी, अन्यको सम्पती जाँचबुझ गर्न सरकारसँग जोडदार माग गरेको वरिष्ठ उपाध्यक्ष सोनालले जानकारी दिए । पार्टीको विधान अधिवेशन ६ महिनाभित्र र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved