पत्रकार महासंघको केन्द्रीय महाधिवेशन २१ वैशाखमा, लुम्बिनीमा हुने

नेपालभ्युज

पत्रकार महासंघको केन्द्रीय महाधिवेशन २१ वैशाखमा, लुम्बिनीमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय महाधिवेशन आउँदो वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको तिथि मिति टुङ्गो लगाएको हो ।

महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशन भएको एक महिनापछि महासंघको ८नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ ।

महासंघको बैठकले  महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।
सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने नेपाल पत्रकार महासंघको विधानले व्यवस्था गरेको छ । प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा साङ्गठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल हुनेछ ।
बैठकले  महाधिवेशनलाई विश्वव्यापी रुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको संकटका विषयमा छलफल गर्ने र त्यस निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved