नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको वातावरण बनाइदिन आईसीसीसँग आग्रह

नेपालभ्युज

नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको वातावरण बनाइदिन आईसीसीसँग आग्रह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्क्लेबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको छ ।

साथै, सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको बताउँदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए ।

सदस्य–सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरणसमेत गराए ।

अध्यक्ष बार्क्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए ।

पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै बार्क्लेले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved