केन्द्रीकृत मानसिकताले संघीयता टिक्न सक्दैन : मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

केन्द्रीकृत मानसिकताले संघीयता टिक्न सक्दैन : मुख्यमन्त्री पाण्डे

गण्डकी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताले संघीयता टिक्न नसक्ने बताएका  छन् ।

१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा शुक्रबार पोखरामा संयुक्त रुपमा आयोजित सम्पादक÷वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा उनले सङ्घीय व्यवस्था आएपनि केन्द्रीकृत मानसिकता अझै हट्न नसकेको बताए ।

आफू मुख्यमन्त्री भएपछि पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीको भेलाका साथै राष्ट्रिय परिषद्को भेला समेत भएको बताउँदै उनले उक्त क्रममा संघीयतालाई बलियो बनाउन प्रधानमन्त्रीसँग विभिन्न प्रस्ताव गरिएको बताए।

राजनीतिक नेतृत्व सत्ताका लागि मात्रै लागेको भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले हाम्रा गतिविधिले नै व्यवस्थाका विरुद्धमा लाग्नेका लागि मलजल पुगेको बताए । राजनीतिक अस्थिरता हामीले नै निम्त्याएको बताउँदै उनले हाम्रै गतिविधिले राजनीतिलाई विकृत बनाइरहेको उल्लेख गरे ।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना तयार गर्ने क्रममा लागि रहेको उनले जानकारी दिए। गण्डकी प्रदेशका ८५ पालिकामध्ये मनाङको नार्पाभूमि बाहेक सबैमा बाटो पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्ला समयमा बाटो, पानी लगायतका सुविधाहरू पुगेपछि वस्तीहरू उजाड बन्दै गएको बताए ।

जग्गाजमिन बाँझो र स्थानान्तरण उच्च गतिमा रहेको उल्लेख गर्दै उनले यसलाई रोक्नु अहिलेको चुनौती रहेको धारणा राखे । गाउँघरमा नै आर्थिक गतिविधि बढाउन सक्नुका साथै रोजगारी सृजना गर्न सकेमा स्थानान्तरण रोक्न सकिने उनको भनाइ छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका कामहरू भइरहेको बताए । “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी” भन्ने सोचका साथ उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्य राख्दै प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved