बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक २० मिनेट ढिला गरी सुरु भएको थियो । करिब १५ मिनेटमात्र बसेको उक्त बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराए । बुधबारको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पारित भएको थियो ।

दलहरुबीचको विवाद समाधानका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरुको व्यवस्थापन गर्न विशेष समिति गठन गरी अध्ययन गरिएको थियो । सो समितिले अध्ययन गरी मंगलबार सभामुख पाठकलाई प्रतिवेदन पेस गरेको थियो ।

समिति संयोजकसमेत रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले संसदमा पेस गरेको उक्त प्रतिवेदनमाथि नेकपा एमालेका सांसद केशव प्रसाद पोखरेल, भरतबहादुर केसी, नेपाली कांग्रेसका सांसद मदुकुमार श्रेष्ठले छलफलमा सहभागिता जनाएका थिए ।

छलफल समाप्त भएलगत्तै सभामुख पाठकले प्रतिवेदनलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । प्रतिवेदन पारित भएसँगै त्यसमा उल्लेख भएका विषय तथा बजेट कार्यक्रमहरु सरकारलाई निर्देशनको रुपमा जाने छ ।

तत्कालीन विपक्षी दलहरुले उठाउँदै आएका बजेट तथा कार्यक्रमहरु समेटिएका योजनाहरुमा प्रदेश सरकारले बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved