खगेन्द्र नवजीवन केन्द्र नर्क जीवनमा परिणत, सिडिओलाई भेटेर तोसिमाले गराइन् ध्यानाकर्षण

नेपालभ्युज

खगेन्द्र नवजीवन केन्द्र नर्क जीवनमा परिणत, सिडिओलाई भेटेर तोसिमाले गराइन् ध्यानाकर्षण

काठमाडौंं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र ‘नर्कजीवन केन्द्र’ रहेको भन्दै डा तोसिमा कार्कीले टिप्पणी गरेकी छिन् ।

रास्वपाकी सांसद तोसिमाले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गर्दै ‘खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र’ रहेको प्रतिक्रिया दिएकी हुन् ।

त्यहाँ पुगेकी सांसद कार्कीले निःशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा मासिक शुल्क लिएको र अपाङ्गता भएकाहरूको अवस्था दयनीय रहेको भन्दै बेथिति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन् ।

उनले बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, कसैको बेड फोहोर भएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, निःशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा महिनाको ६ हजार रुपैयाँ उठाउने गरेको भन्दै त्यहाँको बेथिति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो लेखेकी छन्,

विभिन्न गुनासोहरू आएपछि, म तोसिमा कार्की सहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरू आज गाोकर्णेश्वरस्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ ।

त्यहाँ राखिएका ८४ जना अपाङ्गता भएका नागरिकको बिजोग स्थिति ,एकै कोठामा ७–८ जना कोचेर राखिने, पर्याप्त कर्मचारी छैन, पिसाबै पिसाब गन्हाएको, कसैलाई धेरै दिन देखि बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, कसैको बेड फोहोर भएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, निःशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा महिनाको ६००० उठाउने गरेको, एकै परिवारसँग ५५ लाख उठाइएको, तर कोषमा पैसा नभएको, आर्थिक हिनामिना गरिएको, यसको विरुद्धमा बोल्ने अपाङ्गता नागरिक माथि हातपात गर्ने कुट्ने सम्म गरिने, केयर गर्न स्टाफ नराखिएको, चिसोमा अँध्यारोमा सुताइएको, ह्विल चियर वितरण नगरिएको, बर्सेनि नेपाल सरकारले दिने एक करोड बजेटको लेखाजोखा नभएको, दातृहरूले दिने सहयोगको पनि हिसाब छैन, त्यहाँको वासस्थान र पूर्वाधारहरू हेर्दा यो खगेन्द्र नवजीवन केन्द्रमा यी अपाङ्गता भएका नागरिकहरूले नवजीवन होइन नर्कजीवन जिउन बाध्य बनाइएको महसुस गर्यौँ ।

निकै पिडादायी थियो त्यो दृश्य र उहाँहरूको रोदन ।

आर्थिक अवचलन, भ्रष्टाचार, बेथिति र चरम दुर्व्यवहार ! मान्छेलाई मान्छे जस्तो सहानुभूतिपूर्ण व्यवहारसम्म नगरिएको बारेमा सबै पीडितहरूको गुनासो प्रत्यक्ष सुनेर देखेर हामी केन्द्रका अध्यक्ष सँग भेट्न खोज्दा हामी त्यहाँ उनको अफिस पुग्दा उनी त्यहाँबाट भागेछन् ।

प्रशासनमा जो भेट्यौँ उनीहरूसँगै सोधपुछ गर्यौँ र त्यसपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटी उक्त केन्द्रमा जे देख्यौँ सो भनेर तत्काल कारबाही प्रक्रिया अघि बढाउन भनेका छौँ ।

साथै विशेष सुरक्षा र निगरानी दिन समेत अनुरोध गरेका छौँ । यो केन्द्रलाई तत्काल व्यवस्थित र बस्न लायक र पारदर्शी बनाउन जरुरी छ । सम्पूर्ण सबै निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved