प्रधानमन्त्री संसद् बैठकमा नआएपछि एमाले आक्रोशित, चार मन्त्रीले राजीनामा दिनैपर्ने अडान

चारजना मन्त्रीहरूको राजीनामा माग्दै संसद् अवरोध गर्दै एमालेले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको आरोप लगाए ।

नेपालभ्युज

प्रधानमन्त्री संसद् बैठकमा नआएपछि एमाले आक्रोशित, चार मन्त्रीले राजीनामा दिनैपर्ने अडान

काठमाडौं । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ ।

चारजना मन्त्रीहरूको राजीनामा माग्दै संसद् अवरोध गर्दै एमालेले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको आरोप लगाए ।

आइतबार बसेको संसद् बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र गृहमन्त्री दोषी रहेको भन्दै प्रकाश ज्वाला र नारायणकाजी श्रेष्ठको राजीनामा मागे ।

अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री मोहन बस्नेत र पुरातात्त्विक रामग्रामलाई ९९ वर्षका लागि लीजमा दिने पर्यटनमन्त्री सुदन किराती पनि पदमा बसिरहन नमिल्ने भन्दै राजीनामा माग गरे ।

संसद् अवरोध होस् भन्ने आफूहरूने नचाहेको बताउँदै सांसद् गिरीले यी कुरा सरकारले सुनिदियो भने संसद् अवरुद्ध गर्ने, वेल घेर्ने काम नगर्ने बताए ।

उनले भने– ‘‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनुभएको छ । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन । सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन ।’’

सरकारले विपक्षी दलले उठाएका कुरा सम्बोधन नगरेर उत्तेजित बनाउने, बलमिच्याइँ गर्ने काम गरेका कारण विगतमा संसद् अवरुद्ध भएको बताउँदै त्यसतर्फ नलाग्न आग्रह गरे ।

सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved