धर्म र संस्कृतिले नेपाल र नेपालीलाई एकतामा बाँधेको छ : मन्त्री बस्नेत

नेपालभ्युज

धर्म र संस्कृतिले नेपाल र नेपालीलाई एकतामा बाँधेको छ : मन्त्री बस्नेत

बाह्रबीसे । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताएका छन् ।

बाह्रबीसे नगरपालिकासहित विभिन्न संघसंस्थाको आयोजनामा आज बाह्रबीसे–३ खोर्सानीबारीमा आयोजित २८६० औँ डुक सोनाम ल्होछार कार्यक्रममा उनले भने, “हामीकहाँ विभिन्न जातिका आ–आफ्नै पर्व र संस्कृति छन् । हामीकहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकापसमा जोडेको छ ।”

मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए। “सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु”, उनले भने ।

उनले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरिब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गरे ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राखे । उनले यस्ता कार्यक्रम हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्नेमा जोड दिए । उनले हाम्रो मौलिक सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले जोगाउँदै अघि बढाउन युवाहरुले भूमिका खेल्नुपर्ने बताए।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबीसे नगरपालिकामा तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको उल्लेख गर्दै तामाङ र शेर्पा समुदायको पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी छ भने ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा यसप्रकारका कार्यक्रमले सद्भाव र सहिष्णुता बढाउने धारणा राखे । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाले भाषा, सम्प्रदाय, कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण काम भएको र खुसी साटासाट गरेर नयाँ जोशका साथ अगाडि बढ्न प्रेरणा मिलेको बताए।

सोनाम ल्होछारलाई तामाङ र शेर्पा समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाली कांग्रेस बाह्रबिसे नगरसभापति शम्भुबहादुर तिमल्सिना, बाह्रबिसे नगरपालिकाको उपप्रमुख मञ्जु तामाङ, वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीलगायतले त्यस अवसरमा शुभकामना मन्तव्य राखेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved