वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७० हजारले घट्यो

नेपालभ्युज

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७० हजारले घट्यो
फाइल तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्षको पहिलो सात महिना घटेको छ । गत वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि नेपाल छाड्ने नेपालीको संख्या करिब ७० हजारले घटेको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको माघ मसान्तसम्म नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ५ सय ५२ रहेको छ । गत वर्षको सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जना नेपालीहरूको कामको खोजीमा बिदेसिएका थिए ।

विभागको तथ्यांकअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा १ लाख ६२ हजार ६ सय ९४ नेपालीले देश छाडेका थिए । गत वर्षको सोही अवधिमा देश छाड्ने नेपालीको संख्या २ लाख २ हजार एक सय ४८ रहेको थियो ।

यसर्थ, गत वर्षको त्रैमासिक तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपाली ३९ हजार ४ सय ५४ जनाले घटेको छ ।

त्यस्तै, चालु आवको कार्तिक महिनामा ४३ हजार ४ सय २२ जनाले देश छाडेका छन् भने मंसिरमा देश छाड्नेको संख्या बढेर ७१ हजार २ सय ७६ पुगेको थियो ।

पुस महिनामा ६५ हजार ८ सय १३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् भने माघमा सो संख्या ६२ हजार १ सय ४७ रहेको पाइन्छ ।

तथ्यांकअनुसार दैनिक करिब २ हजार नेपालीले रोजगारीका लागि देश छाड्ने गरेको पाइएको छ । जसमा प्रमुख गन्तव्यमा यूएई रहेको छ । यस वर्षको माघ मसान्तसम्ममा यूएई जाने नेपालीको संख्या १ लाख १ हजार ७ सय ७८ रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जानेको स‌ख्यामा कमी आए पनि रेमिट्यान्स भने उल्लेख्य बढेको छ । पुस मसान्तसम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अनुसार मासिक १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको छ । यो वर्ष आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved