काठमाडौंमै बन्यो सबैभन्दा ठुलो सबस्टेसन, मातातीर्थ २२० केभी निर्माण सम्पन्न

नेपालभ्युज

काठमाडौंमै बन्यो सबैभन्दा ठुलो सबस्टेसन, मातातीर्थ २२० केभी निर्माण सम्पन्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०-१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित मातातीर्थ २२०-१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठुलो सबस्टेसन हब बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताए ।

‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नु पर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ’,उनले भने । ‘काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्ने छ ।’

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । उक्त प्रसारण लाइनलाई २०७९को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०-१३२ केभी सबस्टेसन निर्माणाधीन छ ।

त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रूपमा आपूर्ति हुने बताएका छन् ।

उपकार्यकारी निर्देशक प्रधानले मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने बताए । प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको छ ।

चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले उल्लेख गरेका छन् ।
मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुई वटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved