धरपकडशैलीमा उद्योगी चौधरीलाई पक्राउ गर्नु निजी क्षेत्र माथिको प्रहार हो : व्यवसायी

नेपालभ्युज

धरपकडशैलीमा उद्योगी चौधरीलाई पक्राउ गर्नु निजी क्षेत्र माथिको प्रहार हो : व्यवसायी

काठमाडौं । निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

परिसंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए । उनले उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत भएको उल्लेख गरे । उनले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताए । उनले सरकार चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताए ।

अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई पक्राउ गर्नु गलत भएको बताए । अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाएपनि धरपकड गर्न नहुने बताए । अध्यक्ष अग्रवालले दोषी साबित नभएसम्म व्यवसायीलाई थुनामा राख्न नहुने धारणा राखे ।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए । उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भएपनि सरकारले त्यो अवसर समेत नदिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए । उनले निजी क्षेत्रलाई यसरी समस्यामा पर्ने हो भने निजी क्षेत्र हतोत्साहित हुने उल्लेख गरे । उनले व्यवसायीहरुलाई धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने बताए । उनले सरकारको यस्तो कदमले सबै निजी क्षेत्रलाई दुःखी तुल्याएको पनि बताए । उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

व्यवसायीहरुले चौधरी पक्राउ घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपध्येयीतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न आफूहरुलाई बाध्य बनाएको बताए । उनीहरुले सरकारले एकातिर ठूलो महत्वकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बर्साइरहने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने अवस्था सिर्जना भएको तर्क गरेका छन् । व्यवसायीहरुलेसरकारको यस्तो कदमले लगानीको वातावरण बिथोल्नेबाहेक काम गरेको उल्लेख गरे । उनीहरुले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफूहरुको विमति नभएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved