मालपोत अधिकृतसँग १० करोडको सम्पत्ति, कान्छी श्रीमतीको नाममा लुकाए पनि परे फन्दामा

नेपालभ्युज

मालपोत अधिकृतसँग १० करोडको सम्पत्ति, कान्छी श्रीमतीको नाममा लुकाए पनि परे फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालिन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत रहेका भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले गैरकानुनी रूपमा चारकरोड चालीस लाख पन्ध्र हजार आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि मिति २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानिएको छ । सोही अनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम फेला परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सो अवधिमा उनको वैध आय पाँच करोड चौरानब्बे लाख सत्सठ्ठी हजार एक सय अडचालीस रुपैयाँ दश पैसा देखिए पनि कुल सम्पत्ति भने दश करोड तेइस लाख बयानब्बे हजार दुई सय अठासी रुपैयाँ पन्ध्र पैसा देखिन आएको उनको भनाइ छ ।

‘सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम चार करोड उनन्तीस लाख पच्चीस हजार एक सय चालीस रुपैयाँ पाँच पैसा भएतापनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कट अफ मितिमा निजले गरेको खर्च तथा लगानी चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसाको वैधानिक स्रोत नखुलेको देखिँदा निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले जनाएको छ ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि भएको अख्तियारको दाबी छ ।

सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved