मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले

नेपालभ्युज

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले

दमौली । सांसद डा स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ–१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए ।

शनिबार तनहुँ उद्योग वाणिज्य सङ्घको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले भने, ‘सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।’

डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरे । उनले भने, ‘हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ ।’

डा वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिए । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भने, ‘सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।’ रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved