प्रविधिले छलाङ मार्दासमेत हामी परम्परागत तरिकाबाटै राजश्व उठाइरहेका छौँ : अर्थमन्त्री महत

नेपालभ्युज

प्रविधिले छलाङ मार्दासमेत हामी परम्परागत तरिकाबाटै राजश्व उठाइरहेका छौँ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । यद्यपि गत वर्षको तुलनामा राजश्वमा केही वृद्धि भने भएको दाबी गरे । विद्युतीय सवारीसाधनको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले भन्सार राजश्व कम उठेको उनको दाबी छ ।

राजश्व संरचनामा भएको परिवर्तनले यो वर्ष लक्ष्य प्राप्ति हुन नसकेको भए पनि आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको मन्त्री महतको भनाइ थियो । व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई एकसाथ हेर्न नसकिने बताउँदै उनले इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४-३५ अर्ब कम भन्सार राजश्व उठेको बताए ।

महतले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौँ । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौँ । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ ।’

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved