प्रवासी नेपालीलाई स्वदेशी उद्यमी बनाउँदै नबिल बैंक 

नेपालभ्युज

प्रवासी नेपालीलाई स्वदेशी उद्यमी बनाउँदै नबिल बैंक 

काठमाडौं । वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीहरूलाई स्वदेशमै उद्यम गर्नका लागि नबिल बैकले सघाउने भएको छ । यसका लागि बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को शुभारम्भ पनि गरेको छ ।

बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर उक्त कर्जाको सुरुवात गरिएको जानकारी गराएको थियो । बैंकको यस कर्जा पूर्ण रूपमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका नेपालीहरूको लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

के हो नबिल दक्ष प्रवासी उद्यमशील कर्जा ?

नबिल बैंकले सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जाले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई प्राथमिकतामा राखेको छ । विदेशबाट फर्किएर पनि नेपालमै केही गर्न चाहने उद्यमीहरूलाई आवश्यक कर्जा र सल्लाह सुझाव पनि दिने बैंकले जनाएको छ ।

बैंकले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम गर्न चाहानेहरुलाई न्यूनतम १५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने छ । जुन कर्जाहरूलाई बैंकले विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा तोकेको छ ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसै गरी, बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म कर्जा दिनेछ ।

त्यस्तै, सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रुपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।

सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठुलो क्षमतामा अगाडि बढाउने योजना बनाएका उद्यमीहरूलाई बैंकले १० करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । बैंकले कर्जा लिन चाहनेका लागि ३९५ कार्य दिनभित्र नबिल बैंकका जुनसुकै शाखाबाट आवेदन दिन सकिने छ ।

कर्जा कसरी लिने ?

नबिल दक्ष प्रवासी उद्यमशील कर्जा लिनका लागि कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । डकुमेन्ट मिलेको खण्डमा आवेदन दिएको ३ देखि ४ दिनसम्ममा कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।

कर्जा प्राप्तिका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ । बैंकले कर्जामा १ दशमलव ५ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै कर्जाको अवधि १० दश वर्षसम्म हुने छ ।

उक्त कर्जाको शुभारम्भ कार्यक्रममा बोल्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई कर्जा मात्र उपलब्ध गराउने नभएर उनीहरूलाई आवश्यकीय काउन्सिलिङ पनि गरिने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूले ल्याएका सीपमा लगानी गर्दा पक्कै पनि राम्रो हुने उनको भनाई छ । आप्रवासी नेपाली कामदारहरू स्वदेश फर्किएर केही गर्ने सोच बनाइरहेका छन्, अब उनीहरूको सपना हामी साकार पार्छौँ । उनले भने, ‘‘नबिल बैंकले उनीहरूलाई कर्जा मात्र दिँदैन आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि गर्छौँ ।’

त्यस्तै, आफ्नो भनाई राख्दै श्रम स्वरोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले देशमा युवा शक्ति रित्तिइरहेको अवस्थामा नबिल बैंकको यो कर्जा निकै नै महत्त्वपूर्ण रहेको बताए ।

‘युवा विदेशिनु दयनीय अवस्था हैन विदेशिएका युवाहरू स्वदेश नफर्कनु र उतै सेटल भएर बस्नु चाहिँ चिन्ताको विषय हो’, उनले भने ‘वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले सीप सिकेर आएका हुन्छन्, मेहनत गर्न जानेका हुन्छन्, अझ भनौँ केही न केही अनुभव लिएर आएका हुन्छन्, थोर बहुत पुँजी पनि लिएर आएका हुन्छन् । त्यसलाई हामीले प्राथमिकतामा राखेर सहयोग गर्न सक्यौ भने त्यो देशका लागि फाइदाजनक बन्ने छ ।’

यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूलाई स्वदेश फर्कन र स्वदेशमै उद्यम गर्न सहज वातावरण दिने उदेश्यस्वरुप आप्रवासी उद्यमशील कर्जा ल्याएकोमा नबिल बैंकलाई उनले धन्यवाद पनि दिए ।

नबिल बैंकले सुरु गरेको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा व्यवसाय मात्र नभई एक अभियान रहेको बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताएका छन् । वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको सीप र काम गर्ने जुनुनलाई प्राथमिकतामा राखेर आवश्यकीय सबै खाले सेवा सुविधासहित कर्जा उपलब्ध गराउने र स्वदेशमा नै उद्यमी बनाउने बैंकको लक्ष्य रहेको उनको भनाई छ ।

‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूले धेरै कुरा सिकेर आएका हुन्छन्, उनीहरूको सिकाइ र अनुभवलाई सार्थकता प्रदान गर्न हामीले यो कर्जाको सुरुवात गरेका हौँ ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved