ऐतिहासिक किचकबध पुग्ने पर्यटक बढे, भौतिक पूर्वाधारमा सुधार गर्दै नगरपालिका

नेपालभ्युज

ऐतिहासिक किचकबध पुग्ने पर्यटक बढे, भौतिक पूर्वाधारमा सुधार गर्दै नगरपालिका
झापा । महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको राक्षसलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको किंवदन्ती छ । यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
भद्रपुर नगरपालिका–२ मा १० बिघा क्षेत्रफलमा फैलिएको यो स्थान चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटरको दुरीमा रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनीया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति राखिएका छन् ।
२०३८ सालमा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए । सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर पनि यहाँ छ । त्यसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारबाट यहाँ अवलोकन गर्न तथा वनभोज खान आउने गरेको थेबेको भनाइ छ ।
थेबेले भने, “यहाँ शनिबार र बिदाका दिन वनभोजका लागि स्थान पाउन मुस्किल हुने गरेको छ । विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र वनभोजका लागि पर्यटक आउँछन् ।”
बिजुली, खानेपानी र शौचालयको राम्रो व्यवस्था तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किचकबधमा पर्यटकको चाप बढेको बढ्दै गएको छ । यहाँ प्रहरीको अस्थायी विट र सेनाको ब्यारेक छ । वनभोजका लागि पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा ३० रुपैयाँमात्र शुल्क लिइने गरेको छ ।
किचकबध पुग्न भद्रपुरबाट सगरमाथा चोकसम्म कालोपत्र सडक छ भने सो स्थानबाट पूर्व एक किलोमिटर ग्राभेल सडक छ । भद्रपुर नगरपालिकाले हाल सो स्थानमा पुग्न कालोपत्रसहितको ‘रिङरोड’ नै निर्माण गरेको अध्यक्ष थेबेले जनाकारी दिए ।
वरिपरि गहिरो खेती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा किचकबधस्थल रहेको छ । हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गर्छ ।
पुराणकालीन महाभारत कथाको किंवदन्ती जोडिएको झापाको महत्त्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन र भौतिक संरचना निर्माणमा विगतमा स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो ।
पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भए पनि हाल कहीँकतैबाट सहयोग पाउन नसकेको अध्यक्ष थेबेको भनाइ छ । समितिले वनभोजस्थल, बाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुललगायतका संरचना निर्माण भएको जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved