धरानमा एक्लिँदै हर्क, उपमेयरलाई पनि हप्काएपछि मोर्चाबन्दीको तयारीमा दलहरू

कहिले उपमेयरलाई अघि सारेर वडाध्यक्षहरूलाई पेल्ने, कहिले वडाध्यक्षहरूको आड पाएर उपमेयरलाई पेल्ने काम मेयर हर्कबाट भएको दलहरूको निष्कर्ष छ ।

नेपालभ्युज

धरानमा एक्लिँदै हर्क, उपमेयरलाई पनि हप्काएपछि मोर्चाबन्दीको तयारीमा दलहरू

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक्लिँदै गएका छन् । आफूलाई साथ दिइरहेका उपमेयर अइन्द्रविक्रम बेघालाई पनि बिच्क्याएपछि उनी एक्लिँदै गएका हुन् ।

पछिल्लोसमय हर्कको हर्कतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित उपमेयर बेघा पनि दिक्क छन् । निर्वाचन भएको डेढ वर्ष अवधिमै मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीचको सम्बन्ध तिक्ततापूर्ण रहेपनि उपमेयर बेघाले भने साथ दिइरहेका थिए ।

स्वतन्त्ररूपमा निर्वाचित मेयर साम्पाङले भने बारम्बार आफूले तोक-आदेशकै भरमा नगर चलाउने बताउँदै आएका छन् । वडाध्यक्षहरूले विरोध गरेपनि उपमेयर बेघाले हर्कलाई साथ दिँदै आएका थिए । उपमेयर बेघाले ‘नगरको राम्रो होस्’ भनेर आफूले मेयर हर्कलाई साथ दिँदै आएको बताए । तर, अब यसरी नचल्ने उनको चेतावनी छ । यसअघि बसेको नगर कार्यपालिका बैठकमा मेयर साम्पाङले उपमेयर बेघालाई हप्काएका थिए ।

बिनाकारण आफूले हप्की खाएपछि उपमेयर बेघाले दलहरूको बैठकमा भनेका छन्, “अब त्यस्तो नहोस् । हामी दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरू एकढिक्का भएर अघि बढ्न नपरोस्, मोर्चाबन्दी हुन नपरोस् ।’

कार्यपालिका बैठकमा वडाध्यक्षलाई बोल्न नदिएको, बैठक छाडेर जान भन्दै निर्देशन दिएको लगायतका विषयले मेयर साम्पाङ र वडाध्यक्षहरूबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको हो । अरुबेला मेयस साम्पाङले वडाध्यक्षहरूलाई हप्काउँदा उपमेयर बेघा चुपचाप बस्थे ।

त्यसैले पछिल्लो बैठकमा उपमेयर बेघा हप्काइँदा वडाध्यक्षहरूले पनि साथ दिएनन् ।  बैठकलगत्तै सोमबार र मङ्गलबार धरानस्थित राजनीतिक दलका नेताहरूले उपमेयर बेघा र वडाध्यक्षहरूलाई राखेर लगातार बैठक गरिरहेका छन् । त्यही बैठकमा वडाध्यक्षहरूले उपमेयर बेघासँग मेयर साम्पाङले हप्काउँदा पनि चुप लागेर बसेकाले आफूहरूले पनि त्यही गरेको जवाफ दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का नेताहरूको बैठकमा वडाध्यक्षहरूले भनेका छन्, “उहाँलाई मेयर साम्पाङले पेल्दा हामीले किन साथ दिनु भनेर दिएनौँ । पहिला हामीलाई बैठकबाट निकाल्दा पनि उपमेयर बेघा चुप हुनुहुन्थ्यो ।”

कहिले उपमेयरलाई अघि सारेर वडाध्यक्षहरूलाई पेल्ने, कहिले वडाध्यक्षहरूको आड पाएर उपमेयरलाई पेल्ने काम मेयर हर्कबाट भएको दलहरूको निष्कर्ष छ ।

धरान १७ का वडाध्यक्षसमेत रहेका माओवादी नगरअध्यक्ष सूर्यबहादुर भट्टराई नगरका प्रवक्ता हुन् । उनी दलहरू मिल्नुको विकल्प नभएको सुनाउँछन्, “धरानको समग्र विकासका लागि अब कसरी अघि बढ्ने भनेर पार्टी नेता, उपमेयर, वडाध्यक्षहरुबीच छलफल भइरहेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved