‘सत्य’ हराएको वीरेन्द्रनगरको सत्यकाँडा, कहिले फर्केला त्यो साख ?

‘सत्य’ हराएको वीरेन्द्रनगरको सत्यकाँडा, कहिले फर्केला त्यो साख ?

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, यसको मुटुमा रहेको छ मंगलगढी चोक । मंगलगढी चोक वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ साविकको (लाटीकोइली गाविस)सँग जोडिएको छ । यहीं एउटा सुन्दर बस्ती थियो, सत्यकाँडा ।

अब त्यो सत्यकाँडा बस्तीको ‘सत्य’ हराएको छ । केवल विस्मृति छन् ‘सत्य’ । अहिले त्यो सुन्दर बस्तीमा रहेका छन् ‘काँडा’ मात्र । कुनैबेला त्यो सुन्दर सत्यकाँडा बस्तीमा मानिसहरुको चहलपहल थियो । स्कुल थियो । हरियालीमय अन्नबाली फल्थ्यो । सुन्तला, केरालगायतका फलफूल फल्थे । बाली लगाएका सुन्दर गह्रा (काग्ली) थिए ।

अहिले त्यो विगतको ‘सत्य’ हराएर अहिले ती अन्नबाली फल्ने ठाउँमा ‘काँडेझार’ उम्रिएको छ । उभिएका तिनै ‘काँडेझार’ उभिएका केरा र सुन्तलाका बोटहरु ‘ठिंग’ । बस्ती हराएपछि उनीहरुलाई नियास्रो लाग्यो होला तिनै पनि पहेंला पहेंला भएका छन् । अन्य जंगल बाक्लिएको छ । विस्थापित भएको छ स्कुल ।

द्वन्द्वकालमा विस्थापित भयो सत्यकाँडा

सत्यकाँडा गाउँमा कुनैबेला २६ भन्दा धेरै घरधुरीको बसोबास रहेको थियो । गाउँ नजिकै स्कुल रहेको थियो । अहिले सत्यकाँडा गाउँमा तीन घरधुरीको बसोबास रहेको छ । अन्यसबै घरधुरी द्वन्द्वकालमा विस्थापित भएर वीरेन्द्रनगरलगायतका अन्य ठाउँमा गएको सत्यकाँडामा हालसम्म बसिरहेका भीमबहादुर बुढाथोकीले बताए ।

‘जंगलको बस्ती भयो । द्वन्द्वकालरत पक्षको डर निकै थियो । त्यसैले सम्पती हुनेहरु यहाँबाट सम्पती छाडेर गए ।’ उनले भने,‘हामी जस्ता गरिबहरु जान सक्ने अवस्था रहेन । यतै बसेका छौं ।’

सत्यकाँडा बस्तीमा द्वन्द्वका बेलामा बस्ती छाड्नुको एउटा कारण तत्कालीन माओवादी पक्षको डर रहेको बुढाथोकीले बताए । ‘यो गाउँका अंधिकांश घरमा एक दुईजना सेना, प्रहरी नभएको घर नै थिएन ।’ उनले भने, ‘संकटकालपछि यहाँको बस्ती विस्थापित भएको हो ।’

बस्ती विस्थापित हुनुमा खानेपानीको समस्या पनि एउटा पाटो रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा सदस्य रत्ना नेपालीले बताइन् । ‘पहिलो त यहाँ खानेपानीको समस्या रहेको छ । यो गाउँमा दुई वटा खानेपानीका कुवा छन् । बस्ती धेरै थियो ।’ उनले भनिन्, ‘सेवा सुविधा कम हुँदा बस्ती सेवा सुविधाका लागि बस्ती अयन्त्र सरेको हुनुपर्छ ।’

बस्ती फर्काउने वडाध्यक्षको पहल

विस्थापित भएको बस्ती फर्काउनका लागि वडाध्यक्षले पहल थालेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले बस्ती फर्काउनका लागि पहल थालेका हुन् ।

बस्ती फर्काउनका लागि आफैँले त्यहाँ चार कठ्ठा जमिन खरिद गरेको वडाध्यक्ष गिरीले बताए । ‘बस्ती फर्काउनका लागि मैले त्यहाँ आफैँ जमिन खरिद गरेको छु ।’ उनले भने, ‘अहिले त्यहाँ सडकको सामान्य ट्रयाक खोलिएको छ । अन्य काम पनि गर्न थालिएको छ ।’

वडाध्यक्ष गिरीले बस्ती बसे विकास हुने नत्र बस्ती नभई केही गर्न नसकिने बताए । ‘बस्ती भए विकास हुन्छ,’ उनले भने,‘बस्ती नभए के विकास गर्नु ?’

अहिले सत्यकाँडामा दुई चार घर रहेको दुई चार घरका लागि खानेपानीको सुविधाका लागि खानेपानीका कुवाँ व्यवस्थित गरिएको सत्यकाँडासम्म बिजुली बत्तिका लागि पोल गाडिएको विद्युतले केही समयमा विद्युत जडान गर्ने जानकारी आफुले पाएको वडाध्यक्ष गिरीले जानकारी दिए ।

जग्गा किन्दै व्यवसायी

व्यवसायिक योजनासहित वीरेन्द्रनगर बजारका केही प्रतिष्ठित व्यवसायीहरुले सत्यकाँडामा जग्गा खरिद गरेका छन् । वीरेन्द्रनगर बजारमा व्यवसायी मदन खड्काले व्यवसायिक योजनासहित सत्यकाँडामा रहेको बाँझो जमिन खरिद गरेको बताए । ‘केही व्यवसायिक योजनासहित त्यहाँ केही जग्गा खरिद गरेको छु ।’ उनले भने, ‘म केही समयमा नै त्यहाँ व्यवसायिक योजना बनाएर काम गर्दैछु।’

सत्यकाँडाबाट देखिन्छ ‘सुन्दर वीरेन्द्रनगर उपत्यका’

सत्यकाँडाका सुन्दर वीरेन्द्रनगर उपत्यका देख्न सकिन्छ । वीरेन्द्रनगर बजारको पूरै भाग त्यहाँबाट अवलोकन गर्न सकिन्छ।
त्यहाँबाट सुन्दर वीरेन्द्रनगरको सबै भाग देख्न सकिने वडा सदस्य नेपालीले बताइन् । ‘वीरेन्द्रनगर उपत्यकाको पुरै भाग अवलोकन सत्यकाँडाबाट गर्न सकिन्छ ।’ उनले भनिन्, ‘पर्यटकीय हिसाबले पनि सत्यकाँडा महत्वपूर्ण रहेको छ ।’
पर्यटकलाई लक्षित गरेर सत्यकाँडामा डाँडामा टावर निर्माण गरिएको त्यहाँबाट सुर्खेत जिल्लाका सबै भाग देखिने गरेको वडाध्यक्ष गिरीले जानकारी दिए । ‘टावरसम्म जानका लागि अहिले बाटोको स्तरउन्नती गर्ने काम भइरहेको छ ।’ उनले भने, ‘केही भौतिक संरचनाहरु पनि बनाउँदैछौं ।’

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका अवलोकन गर्नका लागि सत्यकाँडाको देउरालीमा केही संरचना बनाएको त्यहाँसम्म पर्यटकका लागि सडक स्तरोन्नतिको काम भइरहको वडाध्यक्ष गिरीले बताए । ‘हिउँदमा पारिलो घाम लाग्छ । न्यानो हुन्छ । सुन्दर सुर्खेत उपत्यका हेर्न पाइन्छ ।’ उनले भने,‘गर्मीयाममा शिरशिर सितल हावा चल्छ । यसले पर्यटकलाई झनै रोमाञ्चक बनाउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved