बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्‍याउँदै प्रहरीको गोलीले ढले जयशंकर

बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्‍याउँदै प्रहरीको गोलीले ढले जयशंकर

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमालेबाहेकका ५ दलले सुरु गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीको गोली लागि बरहथवा नगरपालिका ६ बस्ने ३० वर्षीय साहको मृत्यु भएको हो ।

शुक्रबार आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास ग¥यो । सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यु भयो ।

साह बंगलादेशमा एमबीबीएस पढ्दै थिए । तर तीन वर्ष अगाडि बुवा बंगालीराम साहको निधन भएपछि उनले पढाई छाड्नु परेको थियो । हाल घरमा एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना छाडेर बुवाले गरेको व्यवसाय सम्हाल्दै आएका थिए ।

साह आन्दोलन र ढुंगामुढाप्रति चासो राख्ने र त्यस्ता कार्यक्रममा सहभागी हुने मान्छे थिएनन्। ‘उनी मेडिकलका विद्यार्थी हुन्। प्लसटुपछि एमबीबीएस पढ्न बंगलादेश गएका थिए । दुई वर्षअघि बुवा बितेपछि एमबीबीएसको पढाईलाई थाँती राखेर यता आएका हुन्,’ जयशंकरका छिमेकीसमेत रहेका बहरथवा–६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले भने, ‘शुक्रबार दिउँसो बिजुलीको बिल तिर्न गएको बेला उसलाई प्रहरीले चलाएको गोली लाग्यो। उसको शव अहिले पनि घटनास्थलमै छ। उनले पार्किङ गरेको राखेको बुलेट बाइक अहिले पनि बिजुली अफिस अगाडि नै ठडिइराखेको छ।’

नगरपालिकाको वडा नं. ५ स्थित इलाका प्रहरी कार्यालय बरहथवा नजिकैको साह परिवारले सर्लाही होटल सञ्चालन गरेका छन्। बुवा बितेपछि एक्ला छोरा जयशंकरले नै त्यो होटल सम्हालेका थिए। बुवाले सञ्चालन गर्दै आएको ब्रोइलर कुखुरा (कुखुरा, चल्ला र दाना) को कारोबारलाई पनि उनले निरन्तरता दिएका थिए।

‘बुवाको मृत्युपछि उनले एमबीबीएसको पढाई पूरा गर्न पाएनन्। युवा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्दै थिए,’ वडाध्यक्ष आलमले भने, ‘यसैवर्ष उनको विवाह हुने कुरा थियो। छोराको विवाह गरेर बुहारी भित्र्याउने विधुवा आमा र चार दिदीबहिनीको सपना जयशंकरसँगै ढलेका छन्।’

‘मेरो मामा आन्दोलनमा जानु भएको थिएन’, मृतक साहका भान्जा विवेकले भने, ‘बाटो हिँडिरहेको क्रममा प्रहरीले चलाएको गोली मामालाई लाग्यो । टाउकोमै ताकेर गोली हानिएको छ ।’

साहलाई विद्युत प्राधिकरण कार्यालयनजिक गोली लागेको हो । उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३÷४ सय मिटर दूरीमा छ । विवेकले प्रश्न गरे, ‘आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३÷४ सय मिटर दूरीमा मेरै मामालाई कसरी लाग्यो ? यसको छानबिन हुनुपर्छ ।’

उनले हवल्दार सोनेलाल यादवले गोली चलाएको आरोप पनि लगाए । उनले भने, ’हवलदार यादव होटलमा आएर जहिल्यै सित्तैमा खान चाहन्थे । यो विषयलाई लिएर उनीसंग एकपटक झगडा परेको थियो । त्यसैले रिसईबीले उनले नै मामामाथि गोली चलाएको हुनसक्छ ।’

मृतक साहको शव कुरेर उनका परिवारका सदस्यहरु र आफन्तहरु कठाङ्ग्रिदो चिसोमा सडकमै आगो बालेर बसिरहेका छन् । प्रहरीहरु करिब ३/४ सय मिटरको दूरीमा छन् । प्रशासनले कर्फ्यू लगाएकाले घरबाट कोही निस्केका छैनन् ।

जनप्रतिनिधिको घमण्ड र कांग्रेस–एमाले बीचको जुँगाको लडाइँले बरहथवामा हिंसा निम्तियो

बरहथवा नगरपालिकाको कार्यपालिका बैठकले गत असोजमै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो। तर पछि नगरप्रमुख कल्पना कुमारी कटुवाल र उपप्रमुख रामबाबु प्रसाद साहले निर्णय कार्यान्वयन गर्न चाहेनन् ।
नगरप्रमुख र उपप्रमुख नेकपा एमालेका छन् । त्यहाँ १८ वटा वडा छन् । अधिकांश जनप्रतिनिधिले प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नति गर्नुपर्ने अडान लिए । उनीहरु नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख र उपप्रमुखलाई दबाब दिन थाले ।

शुक्रबार नगरप्रमुख र उपप्रमुखले बैठक डाकेका थिए । तर एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरे । आन्दोलनमा उत्रेकाहरु तोडफोडमा उत्रिए । गाडी पनि जलाए । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा साहको मृत्यु भयो ।

वडा नम्बर ६ का वडाध्यक्ष मो. आफताब आलमले नगरप्रमुख कटुवालको आनाकानी कै कारण आन्दोलन चर्केको बताए । उनले भने, ‘गरिसकेको निर्णय कार्यान्वयन हुनुपर्छ नि । तर नगरप्रमुख र उपप्रमुखले आनाकानी गरेपछि यस्तो ठूलो घटना घटेको छ ।’

अस्पतालको आवरणमा मुख्य रुपमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक द्वन्द्वले यतिबेला बरहथवामा हिंसा निम्तिएको एकाथरीको आरोप छ ।

बरहथवा– ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको प्रदेश अस्पतालको रुपमा विकास गर्नुपर्ने कांग्रेसको अडान र त्यो प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लैजान नहुने, नगरअस्पतालकै रुपमा विकास गर्नुपर्ने एमाले बीचको जुँगाको लडाइँले बरहथवामा हिंसा निम्तिएको घटनाक्रमलाई नजिकबाट बुझेकाहरु बताउँछन्।

घटनापछि शुक्रबार साँझ कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर बरहथवामा १ जनाको मृत्यु र १० जना घाइते हुनेगरी भएको घटनाको दोष एकअर्कालाई थोपरेका छन्।

नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह र एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले जारी गरेको विज्ञप्तिमा घटना हुनुमा एकअर्कालाई दोष लगाइएको छ।

घटना पछाडिको रहस्य यस्तो छ

बरहथवा– ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पतालको रुपमा विकास गर्नका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गएको असोज ९ गते बसेको बरहथवा नगर कार्यापालिका बैठकले गरेको थियो।
बरहथवा क्षेत्रबाट निर्वाचित कांग्रेसका प्रदेश सांसद वीरेन्द्र सिंह यतिबेला मधेश प्रदेश सरकारमा स्वास्थ्यमन्त्री छन्। उनै सिंहले आफू मन्त्री भएपछि बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पतालको रुपमा विकास गर्न आफूले बजेट हाल्दिने प्रस्ताव मेयर कल्पना कटुवालसँग गरेका थिए ।

त्यसका लागि नगर कार्यपालिकाले निर्णय गर्नुपर्ने प्रस्ताव प्रदेशमन्त्री सिंहले गरेपछि मेयर कल्पनाले ९ असोजमा कार्यपालिका बैठक राखेर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गराएकी थिइन्।

तर, आफूले तीन महिनाअघि गरेको निर्णयबाट उनी अहिले पछि सर्दा बरहथवामा हिंसा निम्तिएको कांग्रेसका नेताहरुको आरोप छ।

‘गएको असोज ९ गते नगर कार्यपालिका बैठकले सर्वसम्मत रुपमा नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनेर गरेको निर्णय उहाँ (मेयर कल्पना कटुवाल)ले यही पुस १७ गते कार्यपालिका बैठक राखेर बहुमतको बलमा उल्ट्याउनु भयो,’ कांग्रेसबाट निर्वाचित बरहथवाका– ६ वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले भने, ‘बरहथवा अस्पताल ५० शैयाको बन्दा त्यसको जस कांग्रेसलाई जान्छ भनेर उहाँ आफ्नो निर्णयबाट ब्याक हुँदा यस्तो अवस्था सिर्जना भयो।’
तर सन्दर्भमा एमालेका बरहथवा नगर कमिटी अध्यक्ष अमरेन्द्र सिंह भने पहिला नगर कार्यपालिकाले सोचविचार नगरी गरेको निर्णय १७ गतेको कार्यपालिका बैठकले सच्याएको बताए।

‘हामीले सम्बन्धित निकायमा बुझ्दा नगर कार्यपालिकाले आफू मातहतको अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्न मिल्दैन भन्ने कुरा आयो,’ वडाअध्यक्ष सिंहले भने, ‘त्यसपछि १७ पुसमा बसेको कार्यपालिका बैठकले असोज ९ को निर्णयलाई स्थगित गरी त्यस विषयमा सर्वपक्षीय बैठकपछि मात्रै अर्को निर्णय गर्ने भनेको थियो।’

उनले भने, ‘२० पुसमा मेयर साहेबले सर्वदलीय बैठक बोलाउनुभएको थियो। तर, बैठक बस्नै नदिइ कांग्रेसको नेतृत्वमा छलफललाई प्रभावित गर्ने गतिविधि बरहथवामा भयो।’

कांग्रेससहितका राजनीतिक दलले मेयर कल्पना कटुवालको अपरिपक्व व्यहारको कारण बरहथवामा हिंसात्मक झडप भएको आरोप लगाएका छन्। यस विषयमा बुझ्न खोज्दा मेयर कटुवाल भने सम्पर्कमा आउन चाहिनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved