वीरेन्द्र शाह–सुजन राउतको निधनले कति पोल्ला शीर्ष नेताको मन ?

शुक्रबारको बालकुमारी घटनामा वीरेन्द्र शाह– सुजन रावतको निधनले सबैभन्दा ठूलो चोट देउवा, ओली र प्रचण्डको छातिमा परेको हुनु पर्ने हो ? तर, के परेको होला र ? यिनीहरुको मन भत्भती पोल्नुपर्ने हो, नलाग्नु पर्ने हो निन्द्रा, रन्थनिनु पर्ने हो मष्तिष्क । जल्नु पर्ने हो ग्लानी र अपराधबोधको भावनाले, तर के त्यसो भएको होला र ?

वीरेन्द्र शाह–सुजन राउतको निधनले कति पोल्ला शीर्ष नेताको मन ?

सरकारप्रतिको विश्वास गुमेको राज्य र राज्यप्रतिको विश्वास गुमेको देशमा कहाँ, कतिखेर के हुन्छ ? कसैले भन्न सक्दैन । कहाँ कतिखेर कुन निहुँमा दंगा वा उपद्रो भड्किन्छ, कसैको पूर्वानुमान हुँदैन।

‘पूर्वानुमान’ गर्न नसकिने समाज खतरनाक हो । त्यसको अर्थ हो, मान्छे–मान्छेबीच एकअर्काको मनोदशालाई बुझ्ने, सुम्सुम्याउने र सम्हाल्ने कुनै रसायन बाँकी छैन। राज्य र समाजका संस्थाहरु फेल भएका छन् । जुन संस्था, अंग र निकाय जे कामका लागि छन्, ती त्यो गर्न नसक्ने भएका छन्। जे गर्दै छन्, गर्न नपर्ने वा गर्न नहुने गर्दैछन्।

शुक्रबारको ग्वार्को–बालकुमारी घटनालाई त्यसैको परिणाम मान्न सकिन्छ । जसले दुई होनहार युवा वीरेन्द्र शाह र सुजन रावतको ज्यान लियो ।

वैदेशिक रोजगारका लागि कोरिया जान पाउनुपर्ने, त्यसका लागि परीक्षामा भाग लिन पाउनुपर्ने माग गरिरहेका असन्तुष्ट युवाले जुन ढुंगामुढा र एक मन्त्रीको गाडीमा आगजनी गरे, त्यसको मूल्य जीवन दिएर चुक्ता गर्न जरुरी थिएनन् । लोकतान्त्रिक राज्यका लागि नागरिकको जीवनभन्दा ठूलो मन्त्री चढ्ने एउटा गाडी हुँदैन।

अझ महत्वपूर्ण कुरा त त्यस्तो परिस्थिति नै आउन नदिनु हुन्थ्यो । सम्बन्धित संस्था र निकायले गम्भीर भएर सोच्ने हो भने आखिर हुने रहेछ । शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई इपिएसमा सामेल गर्न आदेश दिएको छ । तर, घटना भइसकेपछि।

शुक्रबारको घटनाका लागि इपिएस त निहुँ मात्रै थियो । मुख्य कुुरा त देशको आर्थिक संकट र युवा बेरोजगारी हो । दशकौंदेखि देशमा खासै राम्रो कहिल्यै थिएन । तर, विगत केही वर्षयता अर्थतन्त्रमा यस्ता अनौठा प्रवृत्ति देखिएका छन्, राज्यको समग्र असफलता र देशको चौतर्फी बर्बादीको मात्रै संकेत गर्दछन् । तर, राज्य चलाउने हुँ भन्नेहरुले अझै यो यथार्थलाई स्वीकार गरेका छैनन्।

गत एक आर्थिक वर्षभित्र देशको इतिहासमै सर्वाधिक करिब ९ लाख मानिस विदेशिएका थिए। यसको मुख्य उद्देश्य रोजगारी नै हो । पढ्न भनेर पनि केही लाख गएका छन् । तर, तिनको पनि मुख्य अभिप्रेरणा ‘साइड जब’ र भविष्यको सपना नै हो । र, यो प्रवृत्ति चालु आर्थिक वर्षभित्र पनि जारी देखिन्छ । मंसिर महिनामा मात्र करिब ७५ हजार विदेशिएका छन्।

यसले देशमा रोजगार र उद्यमशीलता अभावको भयावह अवस्थालाई संकेत गर्दछ । अधिकांश मानिसका लागि संसारभरि नै जीवन निर्वाहको मुख्य आधार रोजगार हो । स्वभाविक रुपमा सबैमा उद्यमशलिताको भावना हुँदैन । न त्यसका लागि चाहिने सीप, अनुभव, पुँजी नै हुन्छ । सम्भावना र अनुभवहीन क्षेत्रमा उद्यमशीलताको जोखिम उठाएर फस्नु वा डुब्नु झनै पीडादायक हुन्छ ।

अलिअलि भएको पैतृक सम्पत्ति वा घरजग्गासमेत बैंकले लिलाम गरिदिन्छ । देशको आर्थिक विकास प्रक्रिया यति ढिलो र सुस्त छ कि ठूलो जोखिम मोल्न सक्ने स्तरको पुँजी नै सीमित मान्छेसँग छ । पुँजीमाथिको सहज पहुँच मुश्किलले २–४ हजार परिवारसँग मात्र छ तर उनीहरुका लागि पनि लगानी मैत्री माहोल छैन ।

जब देशभित्र राम्रो, आकर्षक, लाभदायक वा मर्यादित रोजगार हुँदैन, मान्छे विदेशिनु स्वभाविक बाध्यता बन्न पुग्दछ । प्रधानमन्त्री प्रचण्डले भर्खरै गरेको सम्बोधनमा न्यूनतम् ज्याला १७,३५० पुग्नुलाई आफ्नो सरकारको ठूलै उपलब्धिका रुपमा चर्चा गरेका छन्, जो बिल्कुलै आकर्षक हैन ।

५० हजार मासिक आयले सामान्य जीवनस्तर नधानिने बजार मूल्य र लागतस्तर भएको देशमा त्यसको आधाभन्दा पनि कमको ज्याला र तलब पर्खेर जस्तै देशभक्त र राष्ट्रवादी मान्छे पनि बस्न सक्दैन । यसको दोब्बर त भारतको खुला बजारबाटै कमाउन सकिन्छ भने नेपाली श्रमिक किन र केका लागि देशभित्र बस्छन् ?

तसर्थ, पाएसम्म नेपालको आयस्तरभन्दा बढी आय हुने वैदेशिक रोजगारीमा जानु नेपाली श्रमिकका लागि एक स्वभाविक र मानवीय आकांक्षा हो । अझ दक्षिण कोरियाबाट हुने आम्दानी अन्य देशको तुलनामा राम्रै देखिन्छ । भूमण्डलीकृत विश्वमा अल्पविकसित देशका लागि यो एक अवसर पनि हो ।

यो कटु सत्यलाई स्वीकार गर्नुको साटो राज्यका सञ्चालकहरु उल्टै तथाकथित ‘देशभक्ति’ र ‘राष्ट्रवाद’ को अर्ती उपदेश पिलाइरहेका हुन्छन् । ‘देशभित्रै बस्नु पर्छ, यही केही गर्नुपर्छ’ भन्न सजिलो छ, यो भनाईमा टिक्न धेरैलाई सजिलो छैन । जुन देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदस्थ अधिकारीकै अधिकांश सन्तान विदेशमा हुन्छन्, उनीहरुले यस्ता सस्ता अर्ती उपदेश दिनुको कुनै अर्थ पनि छैन ।

शुक्रबारको ग्वार्को–बालकुमारी घटनापछि उठ्ने मुख्य प्रश्न के हो भने– आखिर देश यस्तो हालतमा किन पुग्यो, कसले पुर्यायो ? के कोही जिम्मेवार छैन यसका लागि ? आफै भएको हो यो ? कुनै देश आफैँ बन्छ ? कुनै देश आफैँ बिग्रन्छ ? देश बन्न वा बिगार्न शासक समूहको कुनै भूमिका हुँदैन ? संसारका अधिकांश देश बन्ने, धनी र समृद्ध हुने, नेपाल मात्र शताब्दीऔं देखि उस्ताको उस्तै रहने वा अझ बर्बाद हुँदै जाने कारण के हो ? यो स्वाभाविक नियति हो कि कुनै न कुनै प्रकारको अभिशाप ?

कुनै शंका छैन, यो स्वभाविक नियति हैन, शासक समूहले सिर्जना गरेको प्रायोजित अभिशाप हो । हिजो यसका लागि राणा, शाह र पञ्च जिम्मेवार थिए होलान्। केहीदशक यता राजनीतिक दल र यसका शीर्ष नेता जिम्मेवार छन्। त्यसमा पनि तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी, यसका तीन तथाकथित शीर्ष नेता सभापति शेरबहादुर देउवा, अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जिम्मेवार छन् ।

हिजोका निरंकुश शासक, जो आफ्नै इतिहास र मटियामेट भइसके, जसको अस्तित्व नै लगभग समाप्त भइसक्यो, तिनलाई दोष दिएर, गाली गरेर मात्र लोकतान्त्रिक दल र नेताहरुको कर्तव्य पूरा हुँदैन । उनीहरु सत्ता छोडेर हिडेको पनि धेरै समय भइसक्यो ।

कहाँबाट हिसाब गर्ने ? २०४६ साल यता ३४ वर्ष भइसक्यो । जनान्दोलन २०६२-२०६३ यता १७ वर्ष भइसक्यो । गणतन्त्रयता १५ वर्ष भइसक्यो । नयाँ संविधान जारी भए यता झण्डै १ दशक भइसक्यो ? तर, देशको शासन प्रशासनको गुणस्तर र आर्थिक विकास प्रक्रिया अझै किन सुधार भएन ? यसको उत्तर अब कांग्रेस–कम्युनिष्टले दिनु पर्दछ । नेपाली कांग्रेस, एमाले र माओवादीले दिनु पर्दछ । देउवा, ओली र प्रचण्डले दिनु पर्दछ ।

कस्तो सरकार चलाए यिनले ? कस्तो अर्थतन्त्र निर्माण गरे यिनले ? यदि नेपालको कुनै भविष्य छैन, कोही भए पनि केही गर्न सकिँदैन भन्ने हो भने यो राज्यको औचित्य नै के रह्यो ? यदि त्यसो हैन भने देशको स्थिति किन कहिल्यै सुध्रेन ? विश्वको औसत प्रतिव्यक्ति आय १४ हजार डलर पुग्दा नेपालको किन १४ सयको आसपास घिस्रिरह्यो ? के यी अनुत्तरित र अशिभप्त प्रश्न हो ? यसको उत्तर दिनु पर्दैन कसैले ?

शुक्रबारको बालकुमारी घटनामा वीरेन्द्र शाह– सुजन रावतको निधनले सबैभन्दा ठूलो चोट देउवा, ओली र प्रचण्डको छातिमा परेको हुनु पर्ने हो ? तर, के परेको होला र ? यिनीहरुको मन भत्भती पोल्नुपर्ने हो, नलाग्नु पर्ने हो निन्द्रा, रन्थनिनु पर्ने हो मष्तिष्क । जल्नु पर्ने हो ग्लानी र अपराधबोधको भावनाले, तर के त्यसो भएको होला र ?

देशबासीलाई रुवाएर, युवा जनशक्तिलाई बिचल्ली पारेर, रोजगार र उद्यमशीलता समाप्त गरेर, कुसाशन र भ्रष्टाचारमा देशलाई आकन्ठ डुबाएर, राज्य, दल, सरकार र लोकतन्त्रप्रति नै वितृष्णा सिर्जना गराएर यिनीहरुले गरेको राजनीति कस्तो हो ? कसका लागि हो ?

केका लागि हो, त्यो शक्ति र हैसियत ? केका लागि त्यो मरिहत्ते र दौडधुप ? केका लागि हो–उछिनपाछिन, असिनपसिन, नाटक, नौटंकी, एकअर्काप्रतिको सत्तोसराप, धोकाबाजी र षडयन्त्र ? त्यसबाट प्राप्त हुने उपलब्धि चाहिँ के हो ? त्यसबाट प्राप्त हुने सन्तुष्टि के हो ? आफ्नै हिनभावना र अहंको तुष्टिकरणबाहेक अरु केही अर्थ छ ?

कुनै पनि राष्ट्रको बिचल्ली र पतन त्यो विन्दूमा गएर मात्र रोकिन सक्दछ, जब त्यसका शीर्ष नेतृत्व वा शासक समूह जिम्मेवार हुन्छ । नैतिक भावनाले भरिन्छ । पद, लोभ र महत्वाकांक्षाको घेराबाट बाहिर निस्कन्छ । र सत्यलाई स्वीकार गर्दछ । गल्तीलाई ‘रियलाइज’ गर्छ । जिम्मेवारीको गहिरो अनुभूति र आत्मबोध गर्दछ ।

के वीरेन्द्र शाह र सुजन राउतको निधनले देउवा, ओली र प्रचण्डलाई त्यस्तो आत्मबोध देला ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved