युवा र सन्ततिको भविष्य सुरक्षित बनाउने सांसद चौधरीको संकल्प  

नेपालभ्युज

युवा र सन्ततिको भविष्य सुरक्षित बनाउने सांसद चौधरीको संकल्प  

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद तथा उद्यमी विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेकोमा जोड दिए ।

‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्ज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु’, उनले भने, ‘मलाई लाग्छ, हाम्रो जिम्मेवारी यही नै हो । र, यो संकल्प पुरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’

नेपालको आर्थिक सुधारको नेतृत्व विगतमा नेपाली कांग्रेसले लिएको स्मरण गराउँदै नेता चौधरीले भने, ‘अब फेरी दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको छ । पार्टीले यो दिशामा वृहत् गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ ।’

आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको राजनीतिलाई मुख्य प्राथमिकता दिँदै आएका नेता चौधरीले यी विषयलाई गम्भीर रूपमा आत्मसाथ गर्दै कांग्रेसले आफूलाई नयाँ पुस्ताले भर पर्न सक्ने पार्टीका रूपमा उभ्याउनुपर्ने धारणासमेत व्यक्त गरेका छन् ।

‘आगामी निर्वाचनमा कम्तीमा २५ लाख युवाहरू पहिलो पटक मतदाताका रूपमा भोट गर्नेछन् । उनीहरूको पहिलो रोजाई कांग्रेस बन्ने गरी अहिलेदेखि नै काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालको १० वर्षको आर्थिक विकासको रोडम्याप के हो रु हामीले नयाँ पुस्तालाई तिम्रो भविष्य यही देशमा सुरक्षित भनेर देखाउने आधार के हुन् रु यी विषयमा अब हामी अलमलमा रहनु हुँदैन ।’, नेता चौधरीले भने, ‘हामीसँग आर्थिक विकासको प्रस्ट रोडम्याप हुनुपर्छ । राजनीतिको अबको एजेन्डा नेपाललाई विकसित देशमा पुर्‍याउने नै हुनुपर्छ । त्यसका लागि नीति, कार्यक्रम र कार्यान्वयन प्रणालीमा समेत गृहकार्य गर्न जरुरी छ । मलाई विश्वास छ, पार्टी नेतृत्व र समग्र पार्टी पंक्ति अब यही दिशामा केन्द्रित बनेर युवाहरूको आकांक्षालाई सम्बोधन गरिनेछ ।’

नेपाली कांग्रेसले अवलम्बन गर्ने आर्थिक विकासको दृृष्टिकोणले नै पार्टी संगठन र युवाहरूलाई आकर्षित गर्ने भएकाले गण्डकी प्रदेश सम्मेलनले यस दिशामा गम्भीर निर्णय गर्नेछ भन्ने विश्वास पनि नेता चौधरीले व्यक्त गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुँदा खुसी लागेको उल्लेख गर्दै नेता चौधरीले विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको उल्लेख गर्दै पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्नका लागि गम्भीर भएर लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

नेता चौधरी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved