निजी क्षेत्रबाट चोभार सुख्खा बन्दरगाह सञ्चालन

नेपालभ्युज

निजी क्षेत्रबाट चोभार सुख्खा बन्दरगाह सञ्चालन

काठमाडौं। चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ।

बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुुरु गरिएको हो । केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो ।

सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । उनले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए ।

‘सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्नेछ,’ उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसावले राम्रो परिणाम देखाएको छ ।’
उनले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए ।

यद्यपि आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने उनको भनाई छ।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.ले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ ।

ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.का प्रतिनिधि अनन्त सिंहले आफूहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए । उनले चोभारलाई नमूनाको रुपमा विकास गर्ने उल्लेख गरे ।

उनले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved