एमाले टोली आज कोशी प्रदेश प्रवेश गर्दै

पहिचान पक्षधर उत्तेजित, सुरक्षा व्यवस्थामा कडाई

नेपालभ्युज

एमाले टोली आज कोशी प्रदेश प्रवेश गर्दै

काठमाडौं । नेकपा एमालेको संकल्प यात्रा आज कोशी प्रदेश प्रवेश गरेसँगै पूर्वको सुरक्षा कडा पारिएको छ । पहिचान पक्षधरले आजैदेखि सो क्षेत्रमा बन्द आव्हान गरेको छ । एमालेको टोली आज साँझ उदयपुरको घुर्मी पुग्ने भएको छ ।

सुदूरपश्चिमको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज साँझ कोशी प्रदेश पुग्ने भएको हो ।

एमालेको यात्रालाई कोशी प्रदेशमा अवरोध पु¥याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन् । उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराईसहितका नेताहरू यात्रामा सहभागी भए अवरोध गर्ने उनीहरूले चेतावनी दिएका छन् । ओलीसहितका नेता सहभागी नभए एमालेको कार्यक्रम अवरोध नगर्ने उनीहरुको भनाइ छ ।

एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमलाई लक्षित गर्दै मधेस प्रदेश र वागमती प्रदेशबाट समेत सुरक्षाकर्मी मगाइएको छ ।

मध्यपहाडी सुरक्षा केन्द्रित कार्यक्रमलाई प्रहरीले एमालेको कार्यक्रम समापन हुने दिन पुस २ सम्मै प्रभावकारी बनाइने बताएको छ । कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।
यसअघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली विहान सिन्धुलीको खुर्कोट पुग्ने छ । एमाले टोली विहान खुर्कोट पुग्ने एमालेले जनाएको छ । नेकपा एमालेका संस्थापक नेता ऋषिराज देवकोटाको जन्मस्थल खुर्कोटमा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

त्यस्तै ओलीले सिन्धुलीमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे बुझ्ने छ । ओलीले आजै सिन्धुली, उदयपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved