बैंकहरुले अप्ठ्यारोमा परेका ऋणीलाई म्याद थप्नुपर्छ : अध्यक्ष ओली

नेपालभ्युज

बैंकहरुले अप्ठ्यारोमा परेका ऋणीलाई म्याद थप्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारोमा परेका ऋणीहरूलाई बैंकले म्याद थप गरेर सहयोग गर्नुपर्ने बताएका छन् ।
आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रूपमा काम गर्न आवश्यक रहेको बताए । बैंक र ऋणहरूबिच ब्याजदर लगायतका विषयमा सर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने उनको भनाई छ ।

अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू बचाउनका लागि सहयोग गर्नुपर्ने उनको धारणा छ । बैंकमा ऋण लिने रकम फालाफाल भएकाले ऋणीले ऋण लिनुको महत्त्व बुझ्न नसकेको उनको बुझाई छ ।

उनले ऋण लिनेहरूले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरूको सम्बन्ध तनावको रूपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए ।

‘बैंकहरुबाट जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ’, उनले भने ‘बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रूपमा काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले सार्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति समेत जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved