एनसेल बिक्रीबारे सांसद सुमनाको पाँच प्रश्न, आजियाटाले कर छल्न नाटक गरेको त होइन ?

नेपालभ्युज

एनसेल बिक्रीबारे सांसद सुमनाको पाँच प्रश्न, आजियाटाले कर छल्न नाटक गरेको त होइन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले एनसेलबाट सेयर झिकेर मलेसियन कम्पनी आजियाटाले कर छल्न खोजेको हुनसक्ने शंका गरेकी छन् । ९६ प्रतिशत सेयर रहेको आजियाटाले एक्कासी सेयर झिक्नु अस्वभाविक भएको भन्दै उनले छानिबिन हुनपर्ने मागसमेत गरेकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई पत्र नै लेखेर उनले एनसेल खरिद प्रकरणको अनुसन्धान गर्न आग्रह गरेकी छन् । समिति सभापति भानुभक्त जोशीलाई पत्र लेख्दै उनले भनेकी छन्– आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन कर (पुुँजीगत लाभकर)को सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ?’

उनले समितिलाई बुझाएको पत्रमा सोधिएका पाँच प्रश्न यस्ता छन्–

१. नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति नलिई प्रमुख शेयरधनी आजियटा बाहिरिंदा परिणाम के हुन्छ ? आजियटाले ब्यहोर्नुपर्ने कुनै जरिवाना वा सजाय हुन्छ ? यदि हुन्छ भने संकलन प्रक्रिया के हुन्छ ?

२. टेलियासोनेराले आजियटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियटाले कबोल गरेको क्यापिटल गेन कर (पुँजीगत लाभकर) पूर्ण भुक्तानी गरेको छ कि छैन । यसबाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ ?

३. चलिरहेको व्यवसाय एनसेल किनेको रकम भन्दा ९६ प्रतिशत कम रकममा बेच्नु अस्वाभाविक देखिन्छ । यसमाथि आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन करको सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ? यति कम मूल्यमा बिक्री भैरहदा खरिदकर्ता र बिक्रीकर्ता बीच अन्य देशमा रहेको सम्पत्ति सट्टापट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्न पर्ने हो कि ?

४. नेपालमा दुरसञ्चार प्रदायक संस्थाले सेवा लाइसेन्स नवीकरण गर्न दस्तुर कति लाग्छ ?

५. निजी स्वामित्वमा रहेको दूरसञ्चार संस्था निश्चित वर्ष पछि सरकारी स्वामित्वमा वा पब्लिक कम्पनीमा जाने प्रावधान कस्तो हो रु यो प्रावधान रहँदा निजी स्वामित्व अवधि सकिन लाग्दा स्वामित्व हस्तान्तरणमा नियमन गर्न पर्ने हो कि होइन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved