सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालको सुझाव

नेपालभ्युज

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।

छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सरकालाई यस्तो सुझाव दिएका हुन् ।

६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै उनले केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको रूपमा पुग्ने बताए ।

कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउनु पर्ने बताउँदै उनले वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट ब्यहोरिरहेकाहरुको सहजीकरणमा लगानी गर्न समेत सुझाव दिए ।

अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिकहरूको सम्बन्ध सुमधुर भएको बताए ।

अध्यक्ष ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ कोषले उल्लेखनीय सफलता प्राप्त गरेको बताए । उनले लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानुनी र संस्थागत व्यवस्था भएको उल्लेख गरे ।

अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यान्वयनमा महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धताका साथै सामाजिक सुरक्षा दिवसको सफलताको कामना समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved