लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै मनोबल बढाउन स्पष्ट सन्देश दिने गरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने उनको भनाई छ ।

केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्री र गभर्नरले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरु भएको समस्या अब ठुला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैंकमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ ।

बैंकको नाफा घट्दा पुनः बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिँदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने ढकाल बताउँछन् ।

“सर्वपक्षीय बैठकमा पनि मैले भनेको थिए । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ, उनले भने, आम जनतामा एउटा म्यासेज दिने काम सरकारले गर्नुपर्दछ ।”

उनले नेपाल राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गरे। अप्ठ्यारो समयमा नेपाल राष्ट्र बैंक लचिलो हुँदा बैंक तथा वित्तीय संस्थाले पनि लचिलो भएर व्यवसायीहरूलाई ऋण दिएको तर अहिले व्यवसायीहरू अप्ठ्यारोमा रहेकोले नेपाल राष्ट्र बैंकले कसिलो नीति लिएर व्यवसायीलाई अप्ठ्यारोमा पार्नु र निजी क्षेत्रलाई मात्र दोष दिनुभन्दा उनीहरूलाई सहज हुने गरी लचिलो भएर आउन आग्रह गरे ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको र यो सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने एउटा महत्त्वपूर्ण दिनको रूपमा पनि रहेको बताए । उनले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह समेत गरे ।

हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरबार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उनको माग छ । उनले कर दिवसमा निजी क्षेत्रलाई गरिएको सम्मानले करको माध्यमबाट निजी क्षेत्रको भूमिका पनि प्रस्ट भएको बताए ।

“निजी क्षेत्र कति जिम्मेवार छ भन्ने कुरा म राख्न चाहन्छु । केही वर्ष पहिले, कोभिड महामारीको समयमा अदालतले निजी क्षेत्रलाई कर दाखिला गर्न दिएको समयका बाबजुद निजी क्षेत्रले सरकारको आग्रहमा समयमै कर दाखिला गरेर राज्यलाई करको टार्गेट भेटाउन तत्कालीन अवस्थामा गरेको सहयोगले पनि निजी क्षेत्र जिम्मेवार छ भन्ने देखाउँछ । अदालतले केही समयपछि कर तिर्दा हुन्छ भन्दाभन्दै पनि हामीले त्यस बेलामा गरेको सहयोगले हामी निजी क्षेत्र वास्तवमै जिम्मेवार छौ भन्ने देखाउँछ ।”

राज्यले सहजीकरण गर्ने हो भने नेपालको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै रहेको निजी क्षेत्रको योगदान बढाउन सकिने कुरा उनको रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved