जनकपुरधामसहित मिथिलाञ्चलमा आज अन्नकुट पर्व मनाइँदै

जनकपुरधामसहित मिथिलाञ्चलमा आज अन्नकुट पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा रहेको रामजानकी सहितको मठ मन्दिरहरूमा धुमधामका साथ आज अन्नकुट पर्व मनाईदैछ ।

बिहान देखि नै जनकपुरधामको मठ मन्दिरहरूमा अन्नकुट पर्वको तयारी भइरहेको छ । अन्नकुट पर्वमा भगवानलाई अर्पण गर्नका लागि खाद्यान्नका ५६ परिकारहरू तयार पारेर भोग लगाउने चलन रहेको छ ।

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम लङ्कामा विजयी भएर फर्केको खुशीयालीमा भगवानको स्वगतमा ५६ प्रकारको वेञ्जनहरु तयार पारेर भोग लगाएको परम्परालाई अहिले पनि निरन्तरता दिने काम भएको रामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष एवं सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिए ।

जनकपुरधाममा रहेका अधिकांश मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाइन्छ । प्रत्येक वर्ष दीपावली सकेको भोलीपल्ट मनाउने चलन रहेपनि यस पटक कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि आज परेकाले आजै पर्व मनाउने तयारी भइरहेको महन्थ दासले जानकारी दिए।

अन्नकुटका लागि तयार पारिएका सामाग्रीहरू भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा साधुसन्त, महन्थहरु सहित सर्वसाधारणलाई भोजन गराउने चलन रहेको छ । जनकपुरधामको सीताकुण्डमा भव्य रुपमा अन्नकुट पर्वको तयारी गरिएको छ ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि हजारौँ व्यक्तिलाई प्रसाद ग्रहण गराउने तयारी भएको सीताकुण्डका महन्थ दासले जानकारी दिए । यसमा नयाँ उत्पादन भएका खाद्यान्न सामाग्री पनि भगवानलाई अर्पण गर्ने चलन रहेको छ । यसका साथै जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड सहितको मठ मन्दिरमा भव्य तयारी भइरहेको छ ।

विश्व शान्ति तथा मानव कल्याणका लागि प्रत्येक वर्ष आयोजना हुने गरेको अन्नकुटका प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू पनि मठ मन्दिरहरूमा आफै पुग्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved