दक्षिणपन्थका १० विशेषता : यस्तो हुन्छ सोच्ने तरिका

‘लेफ्ट-लिवरल’ सोचका मान्छेलाई अनौठो लाग्न सक्दछ कि कस्तो सोच भएका मान्छे हुन्छन् होला-दक्षिणपन्थी । आउनुहोस, दक्षिणपन्थको १० विशेषता चिनौं, ती मान्छे नै सामान्यतः दक्षिणपन्थी हुन्छन्, जसको दिमागले यसरी सोच्छ ।

नेपालभ्युज

दक्षिणपन्थका १० विशेषता : यस्तो हुन्छ सोच्ने तरिका

काठमाडौं । दक्षिणपन्थ विश्व राजनीतिको एक जबरजस्त विचारधारा वा दृष्टिकोण हो । संसारका सबै देशमा, सबैजसो कालखण्डमा धेरथोर दक्षिणपन्थी शक्ति हुन्छन् । विश्वभरि नै राजनीतिलाई ‘राइट-विङ’ र ‘लेफ्ट-लिवरल’ गरि दुई भागमा वर्गीकरण गर्ने प्रचलन छ ।

‘राइट-विङ’ ले सामान्यतः आफूलाई राष्ट्रवादी, सभ्यता, धर्म र इतिहास, समाजसापेक्ष विचारका रूपमा प्रस्तुत गर्दछ भने ‘लेफ्ट-लिवरल’ ले आफूलाई मध्यपन्थी, वामपन्थी वा ‘प्रगतिशील’ भन्ने गर्दछन् ।

यी दुई खेमाभित्रै पनि भिन्नता त हुन्छन् तर, मात्रात्मक र सवालगत । तर, यी दुई खेमा भने स्वाभाविक र विपरीत हो । वामपन्थको आँखामा दक्षिणपन्थ र दक्षिणपन्थको आँखामा वामपन्थ बिल्कुलै वहियात जस्तो लाग्छ । ‘लेफ्ट-लिवरल’ सोचका मान्छेलाई अनौठो लाग्न सक्दछ कि कस्तो सोच भएका मान्छे हुन्छन् होला-दक्षिणपन्थी ।

आउनुहोस, दक्षिणपन्थको १० विशेषता चिनौं, ती मान्छे नै सामान्यतः दक्षिणपन्थी हुन्छन्, जसको दिमागले यसरी सोच्छ ।

१. असमानता स्वाभाविक हो

दक्षिणपन्थी दिमागले ‘स्वतन्त्रता, समानता र बन्धुत्व’ भन्ने सोच नै बेकार हो, प्रकृतिमै समानता छैन भने समाज र राज्यमा कसरी समानता हुन्छ ? प्रकृतिमै हिंसा छ भन्ने मानव जगत्‌मा अहिंसा कसरी हुन्छ ? प्रकृतिले नै अन्याय गर्छ भने मान्छेले कसरी न्याय गर्न सक्दछ ? स्वतन्त्रता भन्नु पनि भ्रम मात्रै हो भन्ने धारणा राख्दछ ।

तसर्थ, दक्षिणपन्थी सोच राख्ने मान्छेले समाजमा उचनीच हुनु, सामाजिक तप्का हुनु, कुनै खास जाति, वर्ग, समुदायमाथि, अर्को जाति, वर्ग र समुदाय तल हुनु स्वाभाविक ठान्दछ । यो सोचले ठान्दछ कि उच्च जाति, वर्ग, समुदाय र परिवारले शासन गर्ने हो, अरु उनीहरूको शासित भइदिन पर्दछ ।

दक्षिणपन्थी सोचमा मान्छे बराबर र सभ्यता सहअस्तित्वमा हुन सक्दैनन् । कुनै एउटा जाति बलियो हुँदा अर्को कमजोर हुनैपर्छ, कुनै एउटा भाषा, धर्म वा संस्कृति बलियो बनाउँन अर्कोलाई दमन गर्नैपर्छ । यहाँसम्म कि दक्षिणपन्थको आँखामा ‘जात व्यवस्था’ समेत उचित हो । किनकि समाजमा सामाजिक तप्का अनिवार्य छ भने घोषित-अघोषित जात व्यवस्था हुने नै भयो ।

खास परिवार शासक र अरु रैती हुने नै भए । यसरी दक्षिणपन्थले जात, धर्म, संस्कृति र सामाजिक तप्काको पक्षपोषण गर्दछ । सामन्तवादको पक्षपोषण गर्दछ । यस्तो कुरालाई ‘सामाजिक मर्यादा’ भन्दछ र पालना हुनुपर्ने माग गर्दछ ।

२.उत्कृष्टता र बर्चश्वको दाबी 

दक्षिणपन्थले यो स्वीकार गर्छ कि जब समानता सम्भव छैन । बलियोले शक्तिशालीलाई, माथिल्लोले तल्लोलाई, उत्कृष्टले निकृष्टलाई हेप्ने, दमन गर्ने वा होच्याउने नै हो भने आफूलाई कमजोर समूहमा किन राख्ने ? म नै बलियो हो, म नै माथिल्लो हो, म नै उच्च हो, म नै उत्कृष्ट हो भन्ने थाल्दछ ।

अब उसले आफ्नो नश्ललाई अरुको नश्लभन्दा, आफ्नो परिवारलाई अरुको परिवारभन्दा, आफ्नो जातिलाई अरुको जातिभन्दा, आफ्नो धर्म संस्कृतिलाई अरुको धर्मसंस्कृतिभन्दा आफ्नो सामाजिक हैसियतलाई अरुको सामाजिक हैसियत भन्दा उच्च हो भन्ने दाबी गर्दछ । तसर्थ ‘अरु’ माथि शासन, दमन गर्नुलाई आफ्नो जन्मसिद्ध तथा प्राकृतिक प्रदत्त अधिकार ठान्न थाल्दछ ।

३. विगत राम्रो थियो, वर्तमान खत्तम छ, भविष्य अनिश्चित छ तसर्थ विगततिर फर्किनुपर्छ

दक्षिणपन्थले सर्वथा इतिहासमा गौरब गर्छ । हिजो सबैथोक राम्रो थियो, आज सबै थोक बिग्रियो भन्छ । हाम्रा पुर्खा महान् थिए, हामी खत्तम र पतनशील भयौँ भनेर चिन्ता गर्छ ।

वर्तमानमा दक्षिणपन्थले विगतको तुलनामा नराम्रो मात्रै भएको देख्छ । दक्षिणपन्थको आँखामा भविष्य भन्ने काल-आयाम नै हुँदैन । उनीहरू वर्तमानबाट भविष्यतिर जान हैन, भूततिर फर्किन चाहन्छन् । जस्तो कि डोनाल्ड ट्रम्पको नारा-मेक अमेरिका ग्रेट अगेन । यसको सार हो, अमेरिका हिजो महान् थियो, आज खत्तम भएको छ, फेरि हिजोजस्तै महान् बनाउनु पर्छ । यहाँ भविष्यमा हिजोको भन्दा अझ राम्रो गर्न सकिने, विगतभन्दा वर्तमान र वर्तमानभन्दा भविष्य झन् राम्रो हुनेछ भन्ने विश्वास देखिन्न ।

४. प्रतिक्रिया छ, जवाफदेहिता छैन

दक्षिणपन्थले विद्यमान सत्ता, सरकार, दल, समाज व्यवस्था र अर्थतन्त्रमाथि तीव्र प्रतिक्रिया गर्दछ । त्यसको चर्को आलोचना र विरोध गर्दछ । र ठीक उस्तै काम आफूले गरेको छ वा विगतमा भएको छ भने त्यसको उत्तरदायित्व भने लिँदैन ।

जस्तो कि नेपालका राजावादीहरू संघीय लोकतान्त्रिक गणतन्त्र र कांग्रेस-कम्युनिष्टका गल्ती कमजोरी देखाउन मरिहत्ते गर्दछन् । उनीहरू वर्तमान र यथास्थितिको विरोध र आलोचना गर्दा ठीकै गरेजस्तो सुनिन्छ । तर, जब हिजोको राणा, शाह, पञ्च शासनको जिम्मेवारी लिनुपर्ने हुन्छ, कि मौन बस्छन्, कि राम्रो थियो भन्न थाल्दछन् ।

यहाँसम्म कि उनीहरूले जंगबहादुर राणाको समेत गुणगान गर्दछन्, जसले कोत पर्वजस्तो हिंस्रक हत्याकाण्डबाट सत्ता हत्याएका थिए । तर, लोकतान्त्रिक नेता र पार्टीहरूको भने पाएसम्म खोइरो खन्दछन् ।

५. राज्यका लागि मान्छे, मान्छेका लागि राज्य हैन

दक्षिणपन्थले यो सोच्छ कि राज्य महत्त्वपूर्ण हो किनकि राज्यसँग शक्ति हुन्छ । राज्य हत्याउन सकियो भने दमन वा हिंसा गर्ने अधिकार प्राप्त हुन्छ । राज्यसँगै पद, प्रतिष्ठा, शान, शौकत पाइन्छ । धनसम्पति प्राप्त गर्न सजिलो हुन्छ । तसर्थ, राज्य महत्त्वपूर्ण हो, जसरी हुन्छ राज्य प्राप्त गर्नुपर्छ । राज्य प्रक्रियामा जसले योगदान वा भूमिका गरे, तिनै महान, योद्धा, शहीद वा विभूति हुन् ।

सर्वसाधारण मान्छे, नागरिक, जनता हुनु कुनै ठूलो कुरा हैन । सर्वसाधारणले गर्ने काम पेशा हुन् । जीविका निर्वाहका लागि गरिएका सामान्य कर्म हुन् । राज्य वा राजनीतिसँग जोडिएको काम ठूलो हो । सर्वसाधारणको राष्ट्र निर्मांणमा कुनै भूमिका हुँदैन । तिनले कर तिर्ने र राज्यले आदेश गरेको बेला पालना गर्ने हुन्, त्यति हो । राज्य महान् हो, मान्छे सामान्य हो । राज्य विशेष हो, नागरिक सामान्य हो ।

६. धर्म आस्था हैन, सत्य हो

दक्षिणपन्थले आफ्नो धर्मलाई सत्य र अरुको धर्मलाई भ्रम ठान्दछ । खासमा धर्म एक विश्वास हो, आस्था हो सत्य हैन । यदि धर्म सत्य हुन्थ्यो त कुन धर्म सत्य हो ? हिन्दूलाई हिन्दू सत्य लाग्दछ, इसाइलाई आफ्नै सत्य लाग्दछ, मुस्लिमलाई इस्लाम सत्य लाग्दछ, अन्य धर्मालम्बीलाई आफ्नै धर्म सत्य लाग्दछ, धर्म सत्य हुने भए कुन बाटो सत्य हो त ? भन्ने प्रश्न सँगै आउँछ ।

धर्म सत्यका अंश हुन् । बाटो वा तरिका हुन् । पूर्ण सत्य हैनन् । तर, दक्षिणपन्थले यो कुरा स्वीकार गर्दैन । त्यसले दाबी गर्छ कि धर्म सत्य हो, मेरै धर्म सत्य हो । मेरै भगवान् सत्य हो । मेरो धर्म र भगवान सत्य हो, अरुका भ्रम हुन् ।

७. मेरो संस्कृति अरुले मानुन्, मैले अरुको मान्न नपरोस्

दक्षिणपन्थ आफ्नो भाषा र संस्कृति फैलियो भने खुसी हुन्छ । अरु भाषा र सांस्कृतिक समुदायले आफ्नो भाषा बोले, संस्कृति माने भने खुसी हुन्छ । तर, आफूले अरुको भाषा बोल्नपर्‍यो, अरुको संस्कृतिलाई मान्यता दिनुपर्‍यो भने दु:खी मात्र हैन, आक्रोशित हुन्छ । त्यसको प्रतिवाद गर्न थाल्छ ।

जस्तो कि नेपालका दक्षिणपन्थीहरू धर्मान्तरण भयो भनेर चर्को हल्ला गर्दछन् । तर, युरोप अमेरिकातिर कसैले भजन गाइरहेको भिडिओ भेटे भने खोजीखोजी शेयर गरिरहेका हुन्छन् । मधेसी वा अन्य जनजातिले दौरासुरुवाल लगाए भने खुसी हुन्छन् । आफूले उनीहरूको समुदायको पोशाक लागाउनपर्‍यो भने आक्रोशित हुन्छन् ।

८. राजनीति पराक्रम हो, निष्ठा वा सिद्धान्त हैन

दक्षिणपन्थले राजनीतिलाई वीरहरूको पराक्रम ठान्दछन्, निष्ठा हैन । राजनीति सिद्धान्तले हैन, शक्तिले चल्छ भन्ने सोच हुन्छ । लोकतान्त्रिक चरित्र र संस्कृतिका नेता तथा चिन्तक उनीहरूलाई मन पर्दैन ।

जस्तो कि महात्मा गान्धी, नेल्सन मण्डेला, गणेशमान सिंह वा मनमोहन अधिकारीजस्तो साधक वा सन्त नेता उनीहरूलाई मन पर्दैन । उनीहरू नेपोलियन बोनापार्ट, विश्मार्क, गारिवाल्डी, पिटर द ग्रेट, पृथ्वी नारायण शाह, जंगबहादुर, महेन्द्र शाहजस्ता शासकलाई आर्दश मान्दछन् ।

दक्षिणपन्थले विचार, सिद्धान्त, निष्ठा, मूल्यप्रणालीको कुरा खासै गर्दैन । कुनै खास घटना वा व्यक्तिलाई महत्त्व दिएर हिँड्छ ।

९.जो पराक्रमी छ, उही शासक हुन पाउनुपर्छ

दक्षिणपन्थले कुनै न कुनै प्रकारले नयाँ हिरो खोजिरहेको हुन्छ । तसर्थ, दक्षिणपन्थी राजनीतिले प्रियतावाद वा हिरोइज्मको उदय हुने सम्भावना सधैँ हुन्छ । किनकि दक्षिणपन्थले संस्थागत प्रक्रिया र लोकतान्त्रिक मूल्यप्रणालीमा भन्दा कुनै एक व्यक्तिको विवेक, नायकत्व, पौरख र पराक्रममा विश्वास गर्दछ । कुनै उपलब्धिको जस कुनै व्यक्तिलाई दिन्छ । कुनै कमजोरको दोष कुनै व्यक्तिलाई दिन्छ । सामूहिक उत्तरदायित्व लिँदैन । संस्थागत सुधारको प्रयत्न कमै गर्छ ।

दक्षिणपन्थी सोचमा शासक भनेको निश्चित प्रक्रिया र पद्धतिअनुरूप निश्चित समयका लागि आएको आएको एक आम स्वीकार्य व्यक्ति हैन, कुनै पराक्रमी पुरुष हो । ऊ जब सत्तामा आउँछ, कुनै न कुनै विशेष गुण वा क्षमता भएकै कारणले आउँछ, जब सत्तामा आउँछ, उसले चाहेको समयसम्म सत्तामा बस्न सक्दछ ।

जस्तो कि लोकतन्त्रमा निर्वाचित राष्ट्रपतिको निर्धारित कार्यकाल हुन्छ । तर, राजा वा तानाशाहको कुनै कार्यकाल हुँदैन ।

१०. राजनीतिमा वैज्ञानिक सत्य केही हुँदैन, धारणा मात्र हुन्छन्

दक्षिणपन्थले ज्ञान, बौद्धिकता, विज्ञान, प्रविधि र वस्तुगत सत्यप्रति सधै एक प्रकारको वैरभाव राख्दछ । परम्पराका नाममा रुढीवाद र अन्धविश्वासलाई प्रवर्द्धन गर्दछ । दक्षिणपन्थको विचारमा राजनीतिमा कुनै सत्य, कुनै वस्तुगत यथार्थ वा कुनै वैज्ञानिकता हुँदैन । विज्ञानको काम प्रविधि बनाउनु मात्रै हो । ज्ञान परम्परालाई परिमार्जन र वस्तुसंगत बनाउनु हैन ।

जस्तो कि हिटलर एक नाजी दक्षिणपन्थी थिए, उनी महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका सिद्धान्तमा अविश्वास मात्रै हैन, त्यसको विरोध र निन्दा नै गर्दथे । नाजी शासनकालमा आइन्स्टाइनले जर्मनी छोडेर अमेरिका पलायन हुनुपरेको थियो ।

दक्षिणपन्थी नेताले बौद्धिकता र ज्ञानको सर्वथा खिल्ली उडाइरहेका हुन्छन् । बल र धनलाई बढी महत्त्व दिइरहेका हुन्छन् । तर, दक्षिणपन्थको चरित्र घोषित दक्षिणपन्थी दलमा मात्रै हुनेचाहिँ हैन । वामपन्थी वा मध्यममार्गी भनिएका दल र आन्दोलनमा दक्षिणपन्थी सोचका मान्छे, समूह वा गुट हुन सक्दछन् । जहाँ भएपनि जसले उपरोक्त तरिकाले सोच्छ वा उसको दिमागको मोड नै त्यस प्रकारले सोच्ने प्रकृतिको हुन्छ, ती सबै दक्षिणपन्थी नै हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved