मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले राखे विश्व रेकर्ड

नेपालभ्युज

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले राखे विश्व रेकर्ड

काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक समेत रहेका उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा‍।ओममूर्तिले जानकारी दिए ।

“गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत साबित हुने आशा गरेको छु”, उनले भने, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।”

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकै पटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए ।

फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा।ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए ।

डा।ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेका छन् । उनले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाएका हुन् । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रूपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरूकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved