पत्रकार महासंघले कान्तिपुरविरुद्धको आन्दोलन अझ सशक्त बनाउने, प्रेस काउन्सिलमा उजुरी हाल्ने

नेपालभ्युज

पत्रकार महासंघले कान्तिपुरविरुद्धको आन्दोलन अझ सशक्त बनाउने, प्रेस काउन्सिलमा उजुरी हाल्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशनविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने बताएको छ । कान्तिपुरले ‘बिचौलिया’को आरोप लगाएपछि महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलनलाई अझ सशक्त बनाउने जनाइएको हो ।

हेर्नुहोस् पत्रकार महासंघले जारी गरेको विज्ञप्ति–

१. नेपाल पत्रकार महासंघलाई गम्भीर लाञ्छना लगाएर कान्तिपुर मिडिया ग्रुपले निकालेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा लगाइएका विभिन्न आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघ चुनौती दिन्छ । गैरकानूनी ढंगबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई पुष्टि गरेको छ । महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।

२. कान्तिपुर मिडिया गु्रपले गैरकानूनी ढंगले निष्कासन तथा सरुवा गरेका पत्रकारले आफूले पाउनु पर्ने सुविधा पाऊ भनेर आवाज उठाउदा सुन तस्करी, भ्रष्टाचार वा बेथितिसँग जोडेर विषयान्तर गर्ने स्तरहीन तथा टिप्पणी गर्न पनि लायक नभएको विज्ञप्तिको विषयमा जवाफ दिइरहन महासंघ आवश्यक ठान्दैन । यसअघि पनि विभिन्न नाममा जारी भएका महासंघविरुद्धको विज्ञप्तिमा आरोप पुष्टि गर्न चुनौती दिइसकेको छ ।

३. नेपालको संविधानले दिएको स्वतन्त्रताको हक अन्तरगत विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको अधिकार, सार्वजनिक प्रदर्शनमार्फत शान्तिपूर्वक आफ्नो माग अभिव्यक्त गर्न पाउनु लोकतन्त्रको आधार स्तम्भ भएको सर्वोच्च अदालतको नजिर, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकारको जगमा टेकेर महासंघले कान्तिपुर मिडिया ग्रुपलाई विद्यमान कानुनको पालना गर्न दबाब दिएको प्रष्ट पार्न चाहन्छ । महासंघलगायत आन्दोलनमा सहभागीविरुद्ध कानूनी प्रक्रियामा जान महासंघ कान्तिपुरलाई चुनौती दिन्छ । एकजना पत्रकारले पनि आफू अन्यायमा परेको भनेर आएमा उसको साथमा उभिने कुरामा महासंघ दृढ छ । महासंघको आन्दोलन, आन्दोलनमा आएका पत्रकारको अधिकारमात्र नभएर कान्तिपुरमा हाल कार्यरत सबै पत्रकारको न्युनतम पारिश्रमिक, श्रमजीवी पत्रकार ऐनले दिएका सेवा सुविधा प्राप्तिका लागिसमेत भएको जानकारी गराउछ ।

४. कोरोना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण मिडिया उद्योग र पत्रकारमा परेको असर न्युनिकरण गर्न महासंघकै अगुवाइमा सरोकारवाला निकायको आग्रहमा सरकारले ल्याएको मिडियामा सहुलियत कर्जा कान्तिपुर मिडिया गु्रपले सबैभन्दा धेरै लिएको कुरा व्यवस्थापनलाई जानकारी नै होला । उक्त कर्जा मिडियामै लगानी भएको छ वा अन्य व्यवसायमा भन्ने कुराको जानकारी दिन महासंघ व्यवस्थापनको ध्यानाकर्षण गराउदछ । वर्षौसम्म पसिना बगाएका पत्रकारलाई संस्थाबाट विदा हुने बेलामा कानूनले दिएको सुविधा देऊ भन्दा विभिन्न आरोप र अपमान गर्ने कार्य अत्यन्त निन्दनीय छ ।

५. कान्तिपुर मिडिया ग्रुपले पत्रकारविरुद्ध गरेको गैरकानुनी कार्यकाविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय महासंघ बैठकले गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेलगायत श्रम आन्दोलनको पक्षमा रहेका अन्तर्राष्ट्रिय संघ संस्थालाई कान्तिपुर मिडिया ग्रुपले गरेको गैरकानूनी कार्यको जानकारी गराउने तथा राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ, संयुक्त राष्ट्रसंघलगायत संघ संस्थासँग पनि श्रम अधिकारका विषयमा छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

६. कान्तिपुर मिडिया ग्रुपका सञ्चारमाध्यमहरुले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहितविरुद्ध रहेकाले प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने निर्णय गरिएको छ ।

७. जाजरकोट जिल्लाको राँमीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलब ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलब्ध गराउन वैदेशिक शाखा र अन्य संघसंस्थामार्फत राहतका लागि पहल गर्ने निर्णय बैठकले गरेको छ । त्यसरी संकलित राहत महासंघको केन्द्रीय समितिका पदाधिकारी र सदस्य तथा प्रदेश र जिल्ला समितिले संकलन गरेको प्रभावित सञ्चार संस्था र प्रभावित पत्रकारको विवरणका आधारमा वितरण गरिनेछ । भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको र महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौँ पत्रकारले आफ्नो बास गुमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved