बागलुङमा भित्रियो एक सय ५१ मुस्ताङी च्याङ्ग्रा, ५० हजारसम्म पर्ने 

नेपालभ्युज

बागलुङमा भित्रियो एक सय ५१ मुस्ताङी च्याङ्ग्रा, ५० हजारसम्म पर्ने 

काठमाडौँ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दशैं लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा बाग्लुङ भित्र्याएका हुन् ।

च्याङ्ग्राको भाउ अकासिए पनि माग घटेको छैन । जस कारण, च्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारी थापाको भनाई छ । लामो समयदेखि दशैं र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने गरेको बताउँदै थापाले यस पटक ७० लाख रुपैयाँको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए ।

उनका अनुसार एउटाको मूल्य ५० हजार रुपैयाँसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई ५० हजार रुपैयाँभन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ छ ।

“अहिले रोज्जा च्याङ्ग्रा ५० हजार रुपैयाँमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु पर्याे । मुस्ताङबाट ल्याउँदा दुःख धेरै छ”, उनले भने, “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउँदा मुस्ताङका च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।”

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरूले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दशैंमा भेडा च्याङ्ग्रा खोज्ने थापा बताउँछन् ।

मुस्ताङका भेडा च्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीय स्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडा च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved