विचार

५० वर्ष पुग्नु भो ? अब ध्यान दिनुस यी ७ कुरा !

५० वर्ष नपुगुञ्जेल लाग्छ–जीवन अझै धेरै बाँकी छ । अझै धेरै काम गर्न सकिन्छ । तर, जब ५० वर्ष छोइन्छ वा कटिन्छ, त्यसपछि लाग्न थाल्छ–जीवन छोटो भइसक्यो, जीवन अब थोरै बाँकी छ । ५० वर्ष सबै हिसाबले मानव जीवनको एक ठूलो मोड हो । त्यसबेला मान्छेले निम्न ७ वटा कुरामा ध्यान दिनु उचित हुन्छ ।

५० वर्ष पुग्नु भो ? अब ध्यान दिनुस यी ७ कुरा !

काठमाडौं। भनिन्छ- मान्छे १४० वर्षसम्म बाँच्न सक्दछ । १०० वर्षभन्दा बढी बाँचेका थुप्रै उदाहरण पनि छन् । तर, ती अपवाद हुन् ।  मान्छेको आधा उमेर भने ५० वर्षलाई मानिन्छ ।

५० वर्ष नपुगुञ्जेल लाग्छ–जीवन अझै धेरै बाँकी छ । अझै धेरै काम गर्न सकिन्छ । तर, जब ५० वर्ष छोइन्छ वा कटिन्छ, त्यसपछि लाग्न थाल्छ–जीवन छोटो भइसक्यो, जीवन अब थोरै बाँकी छ । बाँकी इच्छा र रहर छिटो-छिटो पूरा गर्नुपर्छ । गर्न मन लागेका महत्त्वपूर्ण काम गरिहाल्नुपर्दछ ।

५० वर्ष पुगेपछि जीवनप्रतिका धारणामा केही परिवर्तन आउँछन् । स्वाभाविक रूपमा सबैजसो मानिसमा आउँछन्, कसै-कसैको मात्र समस्या हैन यो । जीवनको यो खण्डमा आएर आफ्नै पूर्ववर्ती सोच र धारणाप्रति पनि अविश्वास लाग्न थाल्दछ । जैविक वा शारीरिक मात्र हैन, बौद्धिक तथा मनोवैज्ञानिक धारणामा पनि नयाँ मोड देखिन थाल्दछन् ।

५० वर्ष सबै हिसाबले मानव जीवनको एक ठूलो मोड हो । ५० वर्ष पुगेपछि मान्छेले निम्न ७ वटा कुरामा ध्यान दिनु उचित हुन्छ ।

१. लवाइखवाइ

‘रातो राम्रो, गुलियो मीठो वैंश छँदाखेरि’ भन्ने एउटा गीत नै छ । युवा उमेरमा तडक-भडकपूर्ण लवाइखवाइमा धेरैको ध्यान र रुचि हुन्छ । विपरीत लिङ्गीलाई आकर्षित गर्न, समाजमा धेरैको ध्यान खिच्न, साथीभाइको वृत्तमा विशिष्ठ, फरक, फेसनेवल र योग्य देखिन, बन्दै गरेको करिअरलाई मद्दत पुर्‍याउन मान्छेले राम्रो लगाउने, मीठो खाने इच्छा राख्दछन् । अर्थात् यो देखासिकी (डेमोस्ट्रेसन इफेक्ट ) युवा उमेरको स्वाभाविक गुण हो ।

मीठो खानुभित्र कतिपयका लागि तामसी भोजनसमेत प्राथमिकताका परेको हुन्छ । युवा उमेरमा बाक्लो लिपिस्टिक लगाएकी युवती, तराईको गर्मीमा टाइसुट लगाएको पुरुष स्वाभाविक नै लाग्दछ । युवा उमेरमा धेरैपटक वा मात्रामा खाने र पचाउने क्षमता हुन्छ । ५० वर्षपछि यस्ता कुराको खासै धेरै अर्थ र महत्त्व हुँदैन ।

५० वर्षपछि समाजमा एक प्रकारको व्यक्तित्व वा पहिचान स्थापित भइसकेको हुन्छ। विपरीत लिङलाई आकर्षित गर्नुपर्ने आवश्यकता कम भइसकेको हुन्छ । तसर्थ, ५० वर्षपछि सीमित र स्वस्थकर खाना खाने, धेरै नखाने बरु थोरै र पटक-पटक खाने, शरीरलाई बाँध्ने र असहज हुनेभन्दा सजिलो हुने हल्का लुगा लगाउने गर्नु उचित हुन्छ ।

२.स्वास्थ्य

युवा उमेरमा जतिसुकै बलियो बाङ्गो वा स्वास्थ्य मान्छे किन नहोस्, ५० वर्षपछि अधिकांश मान्छेमा कुनै न कुनै रोग देखा पर्दछन् । ठूलै रोग नलागे पनि ब्लड प्रेसर, सुगर, युरिक एसिड, कोलेस्ट्रोल, थाइराइड, भिटामिन तथा मिनरल्सको अभाव वा असन्तुलनले हुने रोगको दबाब पर्छ ।

तर, मान्छेलाई के भ्रम हुन्छ भने म पहिलेजस्तै बलियो छु । मलाई केही हुँदैन ? यो भ्रम निकै ठूलो जोखिमको विषय बन्न सक्दछ । ५० कटेको मान्छेले स्वास्थ्यमा अलिक बढी नै ध्यान दिन आवश्यक हुन्छ । नियमित शारीरिक अभ्यास, योग, ध्यान र मनोसाधना जरुरी हुन्छ ।

३. मेनोपज

५० वर्ष पुग्नु औसत मानिसका लागि मेनोपज सामना गर्ने बेला पनि हो । हुन त, मेनोपजका लक्षण ४० वर्षपछि नै देखापर्ने गर्दछन् । महिला र पुरुष दुवैमा यी गुण ४०–५० वर्ष बीचमा तीव्र हुँदै जान्छन् ।

मेनोपजभन्दा हामी अक्सर महिलाको महिनावारी रोकिने प्रक्रियालाई मात्र बुझ्छौं । यो बुझाइ सही हैन । पुरुषमा पनि कपाल फुल्ने, छाला चाउरिने, अनुहारको कान्ति घट्ने, अनेक प्रकारका चिन्ता, एकांकी र उदासीपन मनमा आउने, निन्द्रा कम हुने जस्ता लक्षण आउँछन्, यी ‘मेल मेनोपज’ का लक्षण हुन् । महिलामा महिनाबारी रोकिने प्रक्रियामा कहिले छिटो, कहिले ढिलो हुनेजस्ता लक्षण आउँछन् ।

मेनोपज सामान्य प्राकृतिक प्रक्रिया हो तर धेरैलाई यसबाट डरको भावना उत्पन्न हुने गर्दछ । मेनोपजको लक्षणसँग आत्तिनुहुँदैन । बरु ‘एडजस्ट’ हुन र बानी पार्दै जाने गर्नुपर्दछ । ४०–५० वर्षको बीचमा देखापरेका मेनोपज लक्षणहरू ५५–६० को उमेरतिर पुगेपछि सामान्य लाग्न थाल्दछन् । जस्तो कि, हामी ४०–५० को बीचमा कपाल फुल्यो भने रंगाउँछौं, कालो बनाउँछौं । तर, ६० कटेपछि कपाल कालो पार्ने इच्छा खासै रहँदैन । मेनोपजका अन्य लक्षण पनि यस्तै हुन् ।

४. अधवैंशे संकट

आधा उमेरमा आउने मनोवैज्ञानिक संकटलाई अंग्रेजीमा ‘मिडिल एज क्राइसिस’ भन्ने गरिन्छ । यसको प्रकृति फरक हुन्छ, तर सबैमा कुनै न कुनै प्रकारले आउँछ । युवा उमेरमा मान्छेसँग ठुल्ठूला सपना, योजना, आकांक्षा, महत्त्वाकांक्षा हुन्छन् । मान्छेलाई लागेको हुन्छ कि, ती सबै पूरा हुन्छन् ।

तर, अधवैंशे उमेरमा आएपछि अनुभूति हुन्छ, मान्छेका सबै सपना, योजना, आकांक्षा र महत्त्वाकांक्षा पूरा हुन सम्भव हुँदो रहेनछ । जस्तो– कि ५० वर्षको उमेरमा त घर, गाडीलगायत अन्य सुविधा जोडिसकेको हुन्छु भन्ने धेरैलाई लागेको हुन्छ तर नहुन सक्दछ । छोराछोरीको पढाइ र बिहेदान भइसक्छ भन्ने लागेको हुन सक्दछ, नहुन सक्दछ । राजनीतिमा लागेकाले सांसद मन्त्री भइसक्छु भन्ने ठानेका हुन सक्दछन, अधिकांश हुँदैनन् ।

त्यसपछि मनमा हिनता र पश्चातापको भावना आउने सम्भावना बढ्छ । अहिलेसम्मको जीवन मैले के गरेर बिताएँ ? मुर्ख बनेर खेर त फालिनँ ? गलत निर्णय त गरिनँ ? कुन मोडमा के गल्ती गरेँ ? के कारणले सोचेजस्तो सफलता हात लागेन ? मै आफैँ असक्षम वा अयोग्य त थिइनँ ? यस्ता भावना मनमा आउनु नै अधवैंशे संकटका लक्षण हुन् ।

सत्य के हो भने ५० वर्षको हाराहारीमा आउने यस्ता भावना पनि केही वर्षपछि विशेषतः ६० वर्षपछि अर्थहीन हुँदै जान्छन् । त्यसबाट उत्पन्न हुने हीनता र पश्चातापबाट बच्नुपर्दछ । तपाईंको मात्र हैन, संसारमा कसैको पनि जीवन सोचेजस्तो हुँदैन । सोचेका सबै कुरा नभएका हुँदैनन् । कतिपय साकार भएका हुन्छन्, कतिपय नभएका हुन्छन् । कतिपय सोच्दै नसोचेका उपलब्धि पनि भएका हुन सक्दछन् । अधवैंशे संकटको बेला ‘माइन्ड मेकअप’ गर्न सक्नुपर्दछ, अन्यथा त्यसले मानसिक स्वास्थ्यलाई आघात पुर्‍याउँन सक्दछ ।

५. विचार र सम्बन्धहरूको पुनरावलोकन

युवा उमेरमा तपाईं कुनै खास विचार, दर्शन, सिद्धान्तप्रति बढी नै मोहित, आकर्षित र आशक्त भएको हुन सक्नुहुन्छ तर, यो उमेरमा आएर लाग्दछ कि त्यो सत्य हैन रहेछ । मान्छेले एउटा जीवनमा सबै सत्यहरू बुझ्न सक्दैन । कसैले पनि । जस्तै, ठूलो नाम चलेको विद्वान् वा वैज्ञानिकले पनि । ठीक त्यसैगरी, मानवीय सम्बन्धहरू पनि अपेक्षाविपरीत गएका हुन सक्दछन् । मनपरेका प्रेमी-प्रेमिकासँग विवाह हुन नपाएको गुनगुन मनमा हुन सक्दछ ।

कतिपय प्रिय वा आफन्तजनको मृत्यु वा विछोड भएको हुन सक्दछ । परिवारमा दुर्घटना भएका हुन सक्दछन् । कतिको सम्बन्ध–विच्छेद वा पुनर्विवाह भएको हुन सक्दछ । व्यवसायका साझेदार वा राजनीतिक सहकर्मीबाट विश्वासघात भएका वा मित्रवत् सम्बन्ध र सहकार्य टुटेका हुन सक्दछन् ।

यी सबै कुरालाई स्वाभाविक र सामान्य ठान्नुपर्दछ । कसैप्रति पनि प्रतिशोधको भावना राख्न हुँदैन, राख्न जरुरी नै छैन । बद्लाको भावनाले अक्सर हानी आफैँलाई हुन्छ । विचारमा आएको भिन्नतालाई आफू मुर्ख वा अज्ञानी भएको अर्थमा हैन, त्यस्ता विचार, सिद्धान्त जीवन अनुभवबाट पुष्टि नभएको अर्थमा लिनुपर्दछ । र, आफ्ना अनुभवहरू नयाँ पुस्तालाई बताउनुपर्दछ ।

टुटेका मानवीय सम्बन्धका लागि पनि एक-अर्काप्रति क्षमाको भावना जागृत गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धमा कुनै एक वेला गरेका वाचाहरू जीवनभरि निभाउन कसैलाई पनि सजिलो हुँदैन । उसलाई पनि केही समस्या पर्‍यो होला भन्ने सोच्नुपर्दछ ।

बचपन वा युवा उमेरका साथीहरू नै जीवनभरिका साथी हुन्छन् भन्ने हैन । ती सम्बन्धलाई सम्झिने र ‘नोस्टाल्जिया’ मज्जा लिने हो । यदाकदा भेटघाट हुँदा एक-अर्कालाई सम्झाएर आनन्द लिने हो । बचपन र युवा उमेरका साथीहरू त कताकता, टाढा-टाढा पुगिसेका हुन्छन् । जीवनका सम्बन्ध त चरण-चरणमा बद्लिरहन्छन् ।

५० वर्ष कटेपछि पनि नयाँ, राम्रा र विश्वासिला साथीहरू बनाउन सकिन्छ । त्यो तपाईंको पेशा, रुचि र कार्यक्षेत्रले निर्धारण गर्दछ । नयाँ साथीहरूसँग सम्बन्ध बनाउँदा पुराना सम्बन्धको बोझ र घात-प्रतिघातको सम्भावना पनि कम हुन्छ । सम्बन्ध र साथीहरू छुटे भने निराश हुने हैन, तुरुन्तै नयाँ सम्बन्धहरू बनाउन प्रयत्न गर्ने हो । त्यस्तो कला सिक्ने हो ।

६. बाँकी जीवनको योजना

५० वर्ष पुगेपछि बाँकी जीवन र कामको थप योजना बनाउने हो । हिजो पेशा, व्यवसाय र करिअर सिफ्ट हुने सम्भावना बढी थियो । कलाकार हुन चाहेको मान्छे खेलाडी भयो होला, खेलाडी हुन चाहेको व्यवसायी र व्यवसायी हुन चाहेको राजनीतिज्ञ । अब यस्तो कमैको हुन्छ । ५० वर्षसम्म आइपुग्दा तपाईंले जे क्षमता वा परिचय बनाएको हो, अब बाँकी जीवनको योजना त्यसै क्षेत्रमा बनाउनु उचित हुन्छ ।

५० वर्षपछि पेशा, अध्ययन तथा योग्यताको क्षेत्र वा करिअर बदल्न निकै गाह्रो हुन्छ । कर्मचारीबाट सेवानिवृत्त राजनीति वा व्यवसायमा विरलै सफल हुन्छन् । कलाकारको परिचय बनाएकाहरू ५० वर्षपछि खेलाडी त हुनै सक्दैनन् ।

तसर्थ, ५० वर्षपछि बाँकी करिब २५ वर्षको ठोस योजना बनाउनु र त्यसैमा लागिरहनु राम्रो हो । ७०–७५ पछि भने जीवनलाई ‘लुज’ छोडिदिनुपर्छ । सके गर्ने, नसके नगर्ने । तर, ५० वर्ष सेवा निवृत्त हुने वा हरेस खाने उमेर हैन । स्वास्थ्यले साथ नदिएको अवस्थामा बाहेक ५०–७५ को बीचमा मानिसले झन् धेरै प्रभावकारी ढंगले काम गर्न सक्दछ । किनकि, उसलाई आफ्ना जीवनका अनुभवले युवा उमेरमा भन्दा राम्रो गरी काम गर्ने क्षमता र कला दिएको हुन्छ ।

७. आफ्नै जीवनको अनुभवहरूको संकलन

५० वर्षपछि धेरैलाई आफ्नो जीवन अनुभव लेख्ने रुचि हुन्छ । यतिका धेरै चिज मैले गरेँ, भोगेँ, ती मर्दा मसँगै जाने भए अरुलाई सुनाएर, लेखेर छोड्न पाए हुन्थ्यो भन्ने भावना आउँछ मनमा । तर, कतिपयसँग लेखन कला हुँदैन भने कतिले अटोबायोग्राफी लेख्नुलाई हिचकिचाहटको विषय मानेका हुन सक्दछन् । कतिपयले ७० वर्ष कटेपछि लेखौंला भन्ने सोचेका हुन्छन् ।

तर, अटोबायोग्राफी लेख्ने हो भने सबैभन्दा उपयुक्त उमेर ५०–६० बीच हो । प्रकाशन गर्ने हतारो गर्न जरुरी छैन तर लेख्नचाहिँ ५० वर्षपछि सुरु गरे हुन्छ । पछि अरुले सम्पादन तथा प्रकाशन गर्दिन सक्दछन् । तर, लेख्दै लेखिएन भने त्यो सम्भावना हुँदैन ।

लेख्नु भनेको लेखक हुने रहर मात्र हैन । आफ्ना अध्ययन, ज्ञान र अनुभव नयाँ पुस्तालाई छोडेर जानु हो । नयाँ पुस्ताका लागि त्यसको महत्त्व कति रहन्छ वा रहँदैन, त्यो भिन्नै कुरा हो । तर, मानवीय ज्ञानको विकास र सञ्चितिमा थोरै भए पनि मैले योगदान गरे भन्ने सन्तोष लिएर मर्ने बाटो भने खुल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved