न्यौपानेले गरे एन प्याब्सन अध्यक्षमा ‘स्वघोषणा’, हमाल भन्छन्- आधिकारिक अध्यक्ष मै हुँ

न्यौपानेले गरे एन प्याब्सन अध्यक्षमा ‘स्वघोषणा’, हमाल भन्छन्- आधिकारिक अध्यक्ष मै हुँ

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन प्याब्सन) का सहअध्यक्ष  सुवास न्यौपानेले आफूलाई अध्यक्षमा स्वघोषणा गरेका छन् ।

उनले शनिबार एक कार्यक्रमको आयोजना गर्दै आफैंले आफैंलाई अध्यक्षमा पदस्थापन गरेका हुन् ।

सुवास न्यौपाने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसनको सह–अध्यक्ष थिए । २०७८ साल ११ महिना २४ गते पाण्डव हमालले संगठनको अध्यक्षमा र सुवास न्यौपानेले सह–अध्यक्षमा तीन वर्षे कार्यकालको लागि सपथ खाएका थिए ।

तत्कालीन सह–अध्यक्ष न्यौपानेले एक पत्र जारी गर्दै एन प्याब्सनको नेपालगञ्जमा सम्पन्न सातौं महाधिवेशनको सहमति कार्यान्वयन गर्न भन्दै शनिबार एक कार्यक्रमको आयोजना गरेका थिए । उक्त पत्रमा ‘म सुवास न्यौपानेलाई अध्यक्ष पदमा पदस्थापन गर्नका लागि यहाँ उपस्थितको निमन्त्रणा’ लेखिएको थियो । पत्रमा हस्ताक्षर पनि न्यौपानेकै स्वयमको नै रहेको छ ।

एन प्याब्सन नेतृत्वको कार्यकाल विवाद उत्कर्षमा 

उनले पुरानो माइन्युट अनुसार भन्दै शनिबार आयोजित कार्यक्रममा आफूले आफैलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आफू अध्यक्ष पदमा नियुक्त भएको बताएका छन् । उनले भने, ‘कार्यक्रममा देशभरीका सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियाे, २–३ घण्टाको कार्यक्रम गरियो, अबदेखि एन प्याब्सनको अध्यक्षको जिम्मेवारी मैले सम्हाल्नेछु ।’

एन प्याब्सनको उक्त अध्यक्ष पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष हमाल भने उपस्थित थिएनन् । उनले तीन वर्षका लागि आफू नै अध्यक्ष रहेको दाबी गर्दै आएका छन् ।

उनले सह–अध्यक्ष न्यौपानेले संस्थाको पुरानो लेटरप्याड प्रयोग गरेर आफूले आफैलाई अध्यक्षमा नियुक्त गरेको आरोप लगाएका छन् । ‘पद हस्तान्तरण कस्ले गर्ने हो ? केन्द्रीय समितिले माइन्युट गर्नु पर्दैन र ? विधि र विधानभन्दा बाहिर कहिले हुन्न’, उनले भने, ‘सुवासजीले आफूले आफैलाई पद हस्तान्तरण गर्नुभएको छ ।’

अध्यक्ष हमालले संगठनको नेतृत्व गर्न न्यौपानेले गरेको आह्वान दुर्भाग्यपूर्ण रहेको बताए । उनले आफू स्थापनाकालदेखिको संस्थापक केन्द्रीय सदस्य भएको बताए ।

उनले सह–अध्यक्ष न्यौपानेले गरेको पदस्थापन कार्यक्रम नै अवैध भएको जिकिर गरेका छन् । यसबाट निजी विद्यालयको छाता सङ्गठनमा नै अराजकता भित्रिएको उनको धारणा छ । ‘उहाँले गर्नुभएको कार्यक्रम अवैधानिक हो, उक्त कार्यक्रममा केही साथीहरूको उपस्थिति मात्र रहेको थियो’ उनले भने, ‘उहाँले आफूले गरेको गल्ती स्विकार्नुपर्छ, र माफी माग्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved