वार्षिकोत्सवको अवसरमा एनसेलले गर्‍यो वृक्षारोपण 

नेपालभ्युज

वार्षिकोत्सवको अवसरमा एनसेलले गर्‍यो वृक्षारोपण 

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।  बिहीबार एक कार्यक्रमबीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा वृक्षारोपण गरेका हुन् ।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’मा ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती कोरिडोरको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन् । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा ‘हामी तपाईकै लागि’ थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दछ ।

वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “मलाई लाग्छ हाम्रो जीवनमा तीन वटा कुरा महत्त्वपूर्ण छन्—घर बनाउने, बच्चा हुर्काउने र रुख रोप्ने । सहरमा हरियाली बढाउन र विकासका लागि ललितपुर महानगरपालिकासँग हातेमालो गर्न पाएकोमा म आज निकै गौरवान्वित छु । उपत्यकालाई स्वच्छ र हराभरा सहर बनाउन योगदान पुर्‍याउँदै यी आज रोपिएका रुखहरू लामो समयसम्म रहुन् भन्ने मेरो आशा छ ।’

उनले दीगो विकासका लक्ष्य, आजियाटा समूहको इएसजी फ्रेमवर्क तथा नेट जिरो कार्बन कमिटमेन्ट अन्तर्गत वातावरण संरक्षण र जलवायु परिवर्तन एनसेलको सामाजिक पहलको प्राथमिकता पर्ने समेत जिकिर गरे ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए ।

उनले भने,‘यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु । हाम्रो सहकार्यलाई निरन्तरता दिँदै बागमती कोरिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौँ र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौँ ।’

एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आइरहेको छ ।

‘हामी तपाईकै लागि’ थिम अन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि आयोजना गरिने कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार त्यस्ता कार्यक्रमहरूमा मानव विकास सूचकाङ्क न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरूसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरूमा भ्रमण लगायत रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved