शिक्षक महासंघको चेतावनी- आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्छौं

नेपालभ्युज

शिक्षक महासंघको चेतावनी- आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्छौं

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौं महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने सूचना जारी गरेपछि महासंघले आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने विज्ञप्तिमार्फत प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘संसद र कर्मचारी संयन्त्रले बनाएका गलत र प्रतिगामी नीति र रबैयाले सार्वजनिक शिक्षा ध्वस्त हुँदै जाने र यसको दोष चाहिँ सधैं शिक्षकले बोक्नुपर्ने नियतिको हामी सदाको लागि अन्त्य गर्न चाहन्छौं र यसको लागि यस पटकको आन्दोलन निर्णायक र अन्तिम बनाउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने समेत जनाएको छ ।

‘शिक्षकहरुको हकहित र नेपालको सार्वजनिक सुधारको लागि गरिएको यो आन्दोलनलाई समर्थन गरी साथ दिनुहुन विद्यार्थी, अभिभावक, शिक्षाविद, राजनीतिक दललगायत सरोकारवाला सबैलाई अनुरोध गर्दर्छौं’, महासंघले विज्ञप्तिमा भनेको छ ।

काठमाडौं महानगरले आजै साँझ विज्ञप्ति जारी गरी महानगरका विद्यालय बन्द गरिए कारबाही गर्ने दोहोर्‍याएपछि महासंघले यस्तो जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved