टीकापुर घटनाका तीन कैदी रिहा भएपछि कैलाली कारागारमा अबिरजात्रा

स्वागत गर्न पुगे रेशम चौधरी

रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । आरोपीतहरू रिहा गरेकोमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारलाई धन्यवाद दिँदै टीकापुर घटनामा मुद्दा खेपिरहेका अरु ३० जनालाई पनि उन्मुक्ति दिनुपर्ने बताएका छन् ।

नेपालभ्युज

टीकापुर घटनाका तीन कैदी रिहा भएपछि कैलाली कारागारमा अबिरजात्रा

धनगढी । टीकापुर घटनामा मुद्दा खेपिरहेका तीनजना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।

टीकापुर घटनामा मुद्दा खेपिरहेका टीकापुर नगरपालिका वडा नम्बर ४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका ७ मोतीपुरका हरिनारायण चौधरी र जानकी ७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए ।

उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका ७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौंबाट धनगढी ल्याइने बताइएको छ ।

रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । आरोपितहरू रिहा गरेकोमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारलाई धन्यवाद दिँदै टीकापुर घटनामा मुद्दा खेपिरहेका अरु ३० जनालाई पनि उन्मुक्ति दिनुपर्ने बताएका छन् ।

३ जना रिहा भएपछि कैलाली कारागारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved