कपनमा खुल्यो मौलिक बजार तथा भान्सा घर, हरदिन फरक परिकार !

हरदिन फरक परिकार, सात प्रदेशको रैथाने खाना सातै बार

देशव्यापी पहिचान दिलाउने ध्याउन्नेमा रहेको मौलिक भान्साघरले पाहुनाको सजिलोका लागि बारअनुसार परिकार तयार गर्छ। अनि जुन दिन पनि रोजेको परिकार खान पाइन्छ।

नेपालभ्युज

कपनमा खुल्यो मौलिक बजार तथा भान्सा घर, हरदिन फरक परिकार !
मौलिक बजार तथा भान्सा घर

काठमाडौं। चाबहिलबाट थोरै पर छ, कपन। केही वर्ष पहिला खाली रहेको त्यो क्षेत्र अहिले भरिभराउ छ। बाक्लो बस्ती बसिसकेको त्याे ठाउँमा कतिपय भागमा अहिले अझै सहरोन्मुख छ।

कपन गुम्बा, काठमाडौँका धेरै ठाउँ देख्न सकिने गुम्बा मुनीको डाँडा, दृश्यावलोकन गर्ने अर्को ठाउँ झन्डा पार्क, आनी गुम्बालगायत केही घुम्न योग्य ठाउँहरू छन्।

काठमाडौंको कोलाहलबाट एकैछिन शान्त ठाउँ जानुपरेमा धेरैजसो मानिसहरू उक्लने ठाउँ हो त्यो क्षेत्र। कपन गुम्बा जाने बाटोमा पर्छ आकाशेधारा माथि गैरी गाउँ। त्यहाँ छ मौलिक भान्सा घर।

जसले स्थानीय कृषि उत्पादनबाट मौलिक परिकार बनाउँछ र सहरवासीलाई खुवाउँदैआएको छ। खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले।

खानाको पहिलो ग्राहक आँखा हो। रैथाले खाना पाउने मौलिक भान्छामा आकर्षक ढङ्गले पस्किएको खानामा मानिसको आँखा रमाउँछ। हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै ग्राहले जिब्रोले स्वाद लिन्छन्। किनकि त्यो भान्छाघर बिलकुलै नौलो र मौलिक छ।

देशव्यापी पहिचान दिलाउने ध्याउन्नेमा रहेको मौलिक भान्साघरले पाहुनाको सजिलोका लागि बारअनुसार परिकार तयार गर्छ। अनि जुन दिन पनि रोजेको परिकार खान पाइन्छ।

मौलिक बजार तथा भान्सा घरमा सञ्चालक सुमन दाहाल र उनकी श्रीमती राधिका ढकाल तथा पाहुनाहरू

‘बसे पनि सहर, गाउँकै खाने रहर’

काठमाडौंमा गुन्द्रुक, ढिँडो, भुजा, फापर र कोदोको ढिँडो, मकै, भटमास, सुकुटी माछा, तोङबा, सेल रोटीलगायत परिकार बेच्ने रेष्टुँरा धेरै छन्। नेवार र थकाली परिकारले आफ्नो स्थान जमाइसकेका छन्।

तर, सातै प्रदेश र ७५३ वटै पालिकाको खाना पाउने ठाउँ कहीँ छैन, कपन बाहेक। जहाँ देशैभरका जुन ठाउँमा मानिस आए पनि आफ्नै ठाउँका खाना खान पाउनेछन्।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने श्लोगनसहित सुमन दाहाल र उनकी श्रीमती राधिका ढकालले मौलिक भान्सा घर र मौलिक बजार सञ्चालन गरेका छन् ।

मौलिक बजार तथा भान्सा घरमा पाकेका रैथाले परिकारहरू

३५ वर्षीय सुमनको अवधारणामा मौलिक भान्सा घरले २०७८ असोजमा सेवा सुरू गरेको हो। यो भान्सा घरले दैनिक कम्तीमा सय डेढ सय जना पाहुनालाई मौलिक परिकारहरू खुवाउँदै आएको छ।

सुमन आफ्नो गौरवपूर्ण अनुभव सुनाउँदै भन्छन्, ‘‘अहिले काठमाडौं उपत्यका बाहिरबाट समेत पाहुनाहरू आउने गरेका छन्। अहिले त मन्त्रीज्यूहरू तथा धेरै पालिकाका प्रमुखहरूले भिजिट गरिसक्नुभयो, उहाँहरूले पनि धेरै मन पराइदिनुभएको छ।’’

मौलिक बजार तथा भान्सा घर परिसरकार संरचनाहरू

सातै प्रदेशका खाना, मुनि एकैछाना

सुमनले मौलिक घरलाई रैथाने सामग्रीहरूले सजाएका छन्। मोही बनाउने ठेकी, मदानी, नुन राख्ने ढिक्री, हलो , ढिकी, टुकी, लगायत थुप्रै पुराना सामाग्रीहरू राखिएका छन्। परम्परागत वाद्य सामग्री पनि छन्।

भान्सा घरमा गाउँले परिवेशको झल्को पाइन्छ। मौलिक भान्सा घरमा सातैबार फरक फरक खाना पाइन्छ।
आइतबार किराँतहरूले खाने कोशी प्रदेशको विशेष परिकार किनेमा र याङ्वेन अर्थात् झ्याउ, सोमबार मधेश प्रदेशको, तराइतिर खाने भक्का र बगिया, गहुँको रोटी पाइन्छ।

मौलिक बजार तथा भान्सा घर परिसरकार संरचनाहरू

मङ्गलवार बाग्मती प्रदेशमा नेवारी खानाहरू, योमरी र नेवारी खाजा सेट, बुधवार गण्डकी प्रदेशको पोखरामा फल्ने जेठो बुढो चामलको पोखरेली खिर र सेल रोटी, बिहीबार लुम्बिनी प्रदेशको विशेष परिकार थारुहरूले खाने खाना खिचडी र ढिक्री पाइन्छ।

शुक्रबार कर्णाली तिरको पपुलर उत्पादन, मार्सिको कसार,मार्सी खाना सेट र शनिवार सुदूरपश्चिमको विशेष परिकार माडा, बाबर । त्यतीमात्रै होइन हरेक साँझ जुन प्रदेशको परिकार पाक्छ, त्यही प्रदेशको संस्कृति अनुसारको पहिरन र सांस्कृतिक साँझ पनि हुन्छ।

मौलिक खानाका परिकार

सात पंक्षी सात स्वाद

मौलिक भान्छाघरमा खाना मात्र होइन मासुमा समेत विविधता छ। सात पंक्षी सात स्वाद अन्तर्गत, लोकल कुखुरा, टर्की, लौकाट, कडकनाथ, कालिज, हाँस बट्टाई छन्।

यी पक्षीहरू मध्ये ग्राहकले रोजेको एक पक्षीको सात परिकार वा सात स्वादमा पकाउँछन्। र नाङ्लोमा केराको पातमा राखेर दिने चलन छ।

‘जे बनाउँछौँ मौलिक परिकार नै बनाउँछौँ मोःमो नै खाए पनि कोदो फापरको, चाउमिन पनि कोदो फापर जौँ मरिंगाको बनाउँछौँ। रोटी, र ढिँडो यहाँको विशेष खाना अन्तर्गत पर्छ । र यो खानालाई ग्राहकहरूले आमाले बनाएको खाना भन्दै फेरी पनि आउने गरेका छन्’’ उनले भने।

मौलिक बजार पनि सँगै

मौलिक भान्सा घरसँगै ‘मौलिक बजार’ पनि अटाएको छ। देशभरको उत्पादन प्रवर्द्धन गर्ने र सो ब्रान्डलाई एकछत्र स्थापित गर्ने सपना बोकेर मौलिक भान्सा घरमा खोलिएका सञ्चालक सुमन बताउँछन्। उनले सबै खानेकुरा अर्ग्यानिक र स्थानीय होस् भनेर आफ्नै फार्म राखेका छन्।

स्थानीय उत्पादनलाई प्रवर्धन गर्नु मौलिक बजारको मुख्य उद्देश्य रहेको छ। मौलिक बजारमा ७ सय ५३ वटा स्थानीय तहको नामसहित त्यहाँ उत्पादित रैथाने सामाग्रीहरू पनि छन्।

देशभरको उत्पादन प्रवर्द्धन गर्ने मौलिक बजार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेका रैथाने उत्पादनहरू मौलिक बजारमा ल्याउने र बजारीकरण गरी उत्पादनका लागि किसानको हौसला बढाउने उनीहरूको सोच छ।

अहिलेको मौलिक बजारमा, ‘मौलिक बजार कपन जाउँ, अर्ग्यानिक भान्सामा रमाउँ, सात प्रदेशको परिकार खाउँ,७ सय ५३ पालिकाको उत्पादन लैजाउँ’ भन्ने अवधारणा अन्तर्गत ७ सय ५३ वटै डिस्प्ले कोठाहरू छन्।

प्रत्येक डिस्प्ले कोठाहरूमा स्थानीय तहको नामकरण गरिएको छ। स्लोगनमा भनेजस्तै पालिकाहरूमा उत्पादन भएका विशेष उत्पादनहरूलाई लिएर आएर सोही पालिको नाममा ब्रान्डिङ गरी बजारीकरण गरिरहेका छन्।

हेरौँ केही फोटोहरू –

मौलिक भान्सा घरमा पाकेका रैथाले खाना

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved