शंकाको घेरामा भैरहवा विमानस्थलको भविष्य, छैनन् अन्तर्राष्ट्रिय उडान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लक्षित गरी अन्तर्राष्ट्रिय धार्मिक पर्यटनलाई सहज बनाउने र नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षासहित यो विमानस्थल निर्माण गरिएको थियो । तर, विमानस्थलको भविष्य अब धरापमा परेको छ ।

नेपालभ्युज

शंकाको घेरामा भैरहवा विमानस्थलको भविष्य, छैनन् अन्तर्राष्ट्रिय उडान

काठमाडौं। देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य शंकाको घेरामा परेको छ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान प्रारम्भ भएको १८ महिना भन्दा बढी समय भइसक्यो, तर क्षमतास्तरभन्दा अत्यन्तै न्यून उडान मात्रै भइरहेका छन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लक्षित गरी अन्तर्राष्ट्रिय धार्मिक पर्यटनलाई सहज बनाउने र नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षासहित यो विमानस्थल निर्माण गरिएको थियो । तर, विमानस्थलको भविष्य अब धरापमा परेको छ ।

सन् २०२२ मे १६ मा अलजजिराले विमानस्थलमा पहिलो उडान गरेको थियो। त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उडान कम्पनी भैरहवा विमानस्थलमा उडान भर्न इच्छुक देखिएका छैनन् । देशको ध्वजावाहक नेपाल वायुसेवा नियमले अहिलेसम्म क्वालालम्पुर–भैरहवामा १४ वटा उडान गरेको छ । त्यो पनि एकोहोरो । काठमाडौं–क्वालालम्पुर उडान भर्ने विमान नै फर्किंदा भैरहवा हुँदा आएको ।

विमानस्थल कर्मचारीका अनुसार नेपाल वायु सेवा निगमका १४ उडानमा सबैभन्दा बढी २८ जना मात्र यात्रु थिए । ती पनि सबै नेपाली थिए । क्वालालम्पुर–भैरहवा उडानबाट अहिलेसम्म एक जना पनि विदेशी पर्यटक भित्रिएका छैनन् । वैदेशिक रोजगारमा मलेसिया गएका पश्चिम नेपालतिरका घर फर्किने कामदारले मात्र यस्तो उडानको उपयोग गरेको तथ्यांकले देखाउँछ ।

नेपाल वायुसेवा नियमित उडानको प्रत्याभूति दिन १४ हप्तादेखि निरन्तर यस्तो उडान भरिरहेको छ । अहिलेसम्मका सबै उडान घाटामा छन् । तसर्थ, घाटामा उडान भर्ने कि नभर्ने भन्ने नीतिगत पुनरावलोकन गर्नुपर्ने अवस्थामा स्वयं नेपाल वायु सेवा नियम पुगेको छ ।

भैरहवा विमानस्थलका एक कर्मचारीका अनुसार न्यून यात्रुसहितको नियमित उडान लामो समय राष्ट्रिय ध्वजावाहकले भर्ने हो भने निगमको घाटा झनै बढ्ने छ ।  विमानस्थल प्रशासनले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग भैरहवा उडान भर्न आग्रह नगरेको हैन । विशेषतः बौद्ध धर्मावलम्बीको ठूलो जनसंख्या भएको थाइल्यान्डबाट यस्तो उडान अपेक्षित थियो तर, यात्रु संख्या र तुलनात्मक लाभको सम्भाव्यता अध्ययनपछि थाई एयरवेज पछि हटेको छ ।

बौद्ध धर्मावलम्बी नेपाल आउँदा लुम्बिनी मात्र हैन, बुद्ध सर्किटकै भ्रमण गर्ने इच्छा राख्दछन् । यसको अर्थ हो– लुम्बिनीको भ्रमणपछि उनीहरू स्थलमार्गबाट कुशीनगर, सारनाथ र बोधगया जान चाहन्छन् । तर, स्थलमार्गबाट भारत जान भिसाको समस्या हुन्छ । भारततिरबाट आउने पर्यटकलाई भने नेपालले स्थल मार्गबाटै भिसा दिने गर्दछ ।

तसर्थ, भैरहवा विमास्थल प्रयोग गर्न बौद्ध तीर्थयात्रुलाई सहज हुँदैन । उनीहरू भारततिरको विमानस्थल प्रयोग गरी स्थलमार्गबाट लुम्बिनीसम्म आउँछन् । पश्चिम नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा ठूलो प्रदेश उत्तरप्रदेशमा मात्र ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । लखनउ, अयोध्या, कुशिनगर र बनारस । यीमध्ये बुद्ध सर्किटमा आउने पर्यटकका लागि कुशीनगर विमानस्थल बढी उपयोगी भइरहेको छ । कुशीनगर विमानस्थल बुद्ध सर्किटका तीर्थयात्रुलाई नै लक्षित गरी हालै सुरुवात गरिएको हो ।

एक तथ्यांकअनुसार भुटान, थाइल्यान्ड र म्यानमारका बौद्ध तीर्थयात्रीले लुम्बिनी आउन कुशीनगर विमानस्थल प्रयोग गर्दछन् । त्यसको मुख्य कारण भने नेपालतिरबाट स्थल मार्गमा भारततिर जाने भिसा सुविधाको अभाव र नेपालले भने लुम्बिनी आउनेलाई स्थलमार्गबाटै भिसा दिने प्रचलन भएको उड्यन तथा पर्यटन क्षेत्रका जानकारको राय छ । कुशिनगर अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भैरहवा विमानस्थलभन्दा करिब १६० किमी दक्षिणमा छ ।

विश्व जनसंख्याको करिब ७ प्रतिशत अर्थात् ५० करोडभन्दा बढी बुद्धिस्ट धर्मालम्बी छन् । सातवटा देश देश कम्बोडिया, थाइल्यान्ड, लाओस, मंगोलिया, भुटान, म्यानमार र श्रीलंकामा बौद्धधर्मावलम्बीको बहुमत जनसंख्या छ भने चीन, जापान, भियतनाम र कोरियामा बौद्धमार्गीको ठूलो जनसंख्या छ ।

पर्यटन तथा उडान क्षेत्रका विज्ञका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लक्षित गन्तव्य यिनै देश हुनुपर्ने हो । तर, अलजजिरा र नेपाल वायुसेवा नियमले भने खाडी र मलेसिया क्षेत्रका नेपाली कामदारलाई लक्षित गरे । यो आफैंमा गलत रणनीति हो । विदेशबाट नेपाल आउने कामदार काठमाडौं हुँदै घर फर्किन चाहन्छन्। त्यसको कारण उनीहरूले काठमाडौंबाट गृहप्रदेश वा नगरको आन्तरिक उडान प्रयोग गर्न पाउछन् भने भैरहवामार्फत् फर्किंदा सडक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

घर फर्किन नेपाली मात्र हैन, नेपाल आउन चाहने विदेशीको पहिलो गन्तव्य पनि काठमाडौं नै हुने गरेको छ । यसो हुनुको कारण भने नेपालका अन्य शहरहरूको अन्तर्राष्ट्रिय ब्रान्डिङ हुन नसक्नु हो । ठीक यही समस्या पोखरा विमानस्थलले पनि भोगिरहेको छ । क्षेत्रीय विमानस्थलहरू सन्तोषजनक क्षमतास्तरमा प्रयोगमा आउन ती शहरको अन्तर्राष्ट्रिय ब्रान्डिङ अत्यावश्यक हुन्छ । यसतर्फ नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका संस्था र निकायले ध्यान दिएका छैनन् ।

विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकको कारण भैरहवा विमानस्थल चल्न सक्दैन । किनकि, ती भैरहवा हुँदै हैन, काठमाडौं हुँदै आउन चाहन्छन् । कि त भैरहवा विमानस्थलमा अवतरण गर्दाको भाडा काठमाडौं अवतरण गर्दाको भन्दा निकै कम हुनुपर्ने हुन्छ ताकि भैरहवाबाट काठमाडौंसम्मको आन्तरिक उडान लागत जोड्दासमेत सस्तो परोस् । अन्यथा उनीहरूको छनोट सिधैं काठमाडौं हुन्छ, भैरहवा हैन ।

भैरहवा विमानस्थलको सान्दर्भिकता त्यतिखेर मात्र हुन सक्ने देखिन्छ जब बौद्धधर्मालम्बी देशबाट लुम्बिनीकेन्द्रित छोटो समयका प्याकेज निर्माण गरी विश्वस्तरमा प्रचार र पर्यटन सेवा सञ्जाल बनाउन सकिन्छ । लुम्बिनीमा आएर ५–१० दिन सम्म भ्रमण तथा ध्यान गर्ने र सिधै फर्किने मोडल विश्वस्तरमा प्रचारित हुन सके मात्र भैरहवा विमानस्थलको व्यापक प्रयोग हुन सक्ने छ । लुम्बिनीसँग जोडेर भैरहवाको अन्तर्राष्ट्रिय ब्रान्डिङ अत्यावश्यक छ ।

नेपाल हुँदै आउने बुद्ध सर्किटको भ्रमण गर्न चाहने पर्यटकका लागि स्थलमार्गबाट भिसा दिन भारत सरकारलाई नेपालले राजी गराउनुपर्ने हुन्छ । यी दुई सम्भावना प्रयोगमा आउन नसके भैरहवा विमानस्थलको कुनै भविष्य नहुने जानकार बताउँछन् । विशेषज्ञ भन्छन्– क्वालालाम्पुर वा कुवेत भैरहवा विमानस्थलका लागि उचित गन्तव्य हैनन् । यसले न्या पी ताहु, यांगुन, थिम्पु, बैंकक, कोलम्बोलगायत चीन र जापानका शहरलाई लक्षित गर्न सक्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved