तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : ओली

नेपालभ्युज

तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका  छन् ।

एमालेले सोमबार ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

उनले आगो लगाउने र तेजाब आक्रमण जस्ता अपराध गर्ने कोही पनि उम्कन नपाउन र सजाय भोग्न बाध्य बनाउनुपर्ने बताए। “कडा कानून बनाएर अपराधीलाई दण्डित नगर्ने हो भने सजिलै अपराधी उम्कन सक्नेछन्”, उनले भने, “त्यसैले आगो लगाएर मार्ने र तेजाब आक्रमण गर्नेलाई जिन्दगीभर जेलमा जानुपर्दछ र सड्नुपर्दछ भन्ने त्रास फैलाउनुपर्दछ । सजिलैसँग बहस गराएर छुट्ने खालको नहोस् भनेर कडा कानून बनाएका हौँ ।”

उनले अन्धविश्वासले जन्माएका विकृतिलाई रोक्नका लागि आवश्यकताअनुसार कानूनको दायरा विस्तार गर्नुपर्ने भनाइ राखे । उनले तेजाब आक्रमण महिला र बालबालिका विरुद्धको हिंसाको विभत्स रूप भएको उल्लेख गर्दै तेजाब आक्रमण पीडितलाई परिचय साथै सरकारले हेरचाह, लालपालन, औषधि उपचार गर्नुपर्ने धारणा राखे। अध्यक्ष ओलीले आजको २१ ‍औं शताब्दी सभ्य भएको समाजमा पनि दाइजोको कारणले तेजाब आक्रमण भइरहेको बताए ।

उनले आफू प्रधानमन्त्री छँदा नै तेजाब आक्रमणसम्बन्धी कानून निर्माण गरेको भन्दै तर उक्त कानून धेरै मुस्किलले कार्यान्वयनमा ल्याएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् विन्दावासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने विरुद्ध बनेको कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताईन्। तेजाब पीडित मुस्कान खातुनले अहिले पनि गाउँघरमा तेजाब भनेको थाहा नभएको भन्दै तेजाबसम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताईन् ।

उनले तेजाब पीडितलाई परिचयपत्र खुल्ने कागजात आवश्यक रहेको भन्दै परिचयपत्र खुल्ने कागज भएको भए औषधि पाउन सजिलो हुने बताईन् । जलन पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभरि हुने भन्दै दाग हटाउन सहयोग गर्नुपर्ने बताईन् । उनले परिचयपत्र नभएकाले अस्तपालमा औषधि लिन जाँदा झन्झट भएको बताईन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved