फिल्म समीक्षा

शाहरूखको ‘जवान’ : ‘भुइँमान्छे’का मुद्दाको दरिलो हतियार, फितलो प्रहार

फिल्मले किसान, मजदुर, गरिबको संवेदनशील मुद्दामाथि दरिलो हतियार उठाएको छ। एक वाक्यमा भन्दा ‘जवान बलिउडले निर्माण गर्ने ड्रामा, थ्रिलर, एक्सन र रोमान्सको प्याकेज हो ।’

नेपालभ्युज

शाहरूखको ‘जवान’ : ‘भुइँमान्छे’का मुद्दाको दरिलो हतियार, फितलो प्रहार

बेटेको हाथ लगानेसे पहले बापसे बात कर…’ शाहरूख खानको फिल्म जवानको ट्रेलर सार्वजनिक हुनेबित्तिकै भाइरल भएको थियो यो संवाद। ठूलो पर्दामा ‘किंङ खान’को मुखबाट सुन्न पर्खिरहेका थिए, दर्शक !

हलमा खचाखच दर्शकहरूको भीडमा सिट्ठी र ताली बज्ने भएकाले त्यो डायगल राम्रोसँग सुन्न नपाइएला कि भन्ने चिन्ता थियो, कतिपय दर्शकमा। उनको जादुले थिएटरलाई रङ्गशालामा परिणत गर्ला भन्ने अपेक्षा थियो।

अपेक्षा अनुसार नै भारतमा अहिले जवानले तहल्का पिटिरहेको छ । नेपालमा पनि जवानको क्रेज राम्रै देखिएको छ । बिहीबार बिहानदेखि रातभर र शुक्रबार बिहानसम्म नेपालका हलमा ‘किङ खान’को क्रेज देखिए पनि फिल्म हेरेर फर्किँदा भने दर्शक एकदमै सन्तुष्ट भने देखिएका छैनन्।

फिल्मलाई केही भारतीय मिडियाले ‘ब्लकबस्टर’ भनिरहेका थिए। २०२३ को सुरुमा शाहरुखको फिल्म ‘पठान’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो।

अहिलेको ‘जवान’लाई पनि केही सेलिब्रिटी र दर्शकले ‘पठान’ भन्दा उत्कृष्ट भनेर प्रचार गरिदिएका छन्। त्यो देखेर-सुनेर ‘हाईएक्सपेट’सहित हलसम्म पुगेका कतिपय दर्शक भने मन अमिलो बनाएर फर्किने गरेका छन्, अपेक्षाकृत मसला नपाउँदा !

फिल्मले किसान, मजदुर, गरिबको संवेदनशील मुद्दामाथि दरिलो हतियार उठाएको छ। एक वाक्यमा भन्दा ‘जवान बलिउडले निर्माण गर्ने ड्रामा, थ्रिलर, एक्सन र रोमान्सको एक प्याकेज हो’, जसमा तपाईले सबै तत्त्व भेट्नुहुन्छ। तर, कथा र पटकथा सलल नबग्दा फिल्म केही खल्लो भने महसुस गर्नुहुनेछ। फिल्मले शाहरूखका फ्यानलाई रिझाउँछ तर अत्यधिक सन्तुष्टि दिँदैन।

०००

कथावस्तु पुरानो छ। र, एउटै फिल्ममा जबरजस्त धेरै कुरा देखाउन खोजिएको छ। जसले खिचडी बनेको कथामा दर्शकलाई बाँधिन गाह्रो पर्छ। हामीले विगतमा बलिउड कथाको केन्द्रमा हेर्दै आएको बदला लिने र बदलाको लागि गरिने दुस्मनीको संघर्ष यसको पनि मुख्य अन्तरवस्तु हो ।

नबुझिने शैलीमा अघि बढ्ने कथामै भए पनि दोस्रो भागले दर्शकलाई हास्य, थ्रिल, एक्सन र भावनाको स्पर्श गराउने प्रयास गरेको छ। प्रशस्त कथानक घुम्तीले कतिपय क्षणमा दर्शकलाई ‘इन्गेज’ गराउन भने मुस्किल पर्छ।

फिल्ममा शाहरुख खानको डबल रोल

तर, मेट्रोभित्रको विस्फोट होस् या सडकमा भएको गाडी र मोटर साइकलमा भागदौड, भिडन्तमा बमबारी आक्रमणको आकर्षक एक्सन भिएफएक्सले दर्शकलाई रोमाञ्चक तुल्याउँछ। यी दृश्यले हलिउडका स्पाइ र एक्सन फिल्ममा गरेको खतरनाक एक्सनको सम्झना दिलाउँछ।

खिचडी कथामा भिएफएक्स एक्सन

‘जवान’को केन्द्रमा भ्रष्ट सरकारी संयन्त्र छ। समग्रमा यो एउटा बदला र प्रतिशोधको कथा हो। जवान- एक युवकको कथा हो। जसको जीवन खराब सरकारी प्रणालीका कारण बिग्रन्छ।

कसरी उसको छोराले यो प्रणालीलाई व्यवस्थित गर्न प्रयोग गर्दछ भन्ने देखाइएको छ। कथा भ्रष्टाचारविरुद्धको लडाई र गरिबको अधिकारको बारेमा हो।

आर्मीको स्पेसल टास्क फोर्सका सिपाही हुन् विक्रम राठौर। तर, त्यही विक्रम राठौरले मुम्बईको मेट्रोट्रेन अपहरण गरेर सरकारसँग आफ्नो माग राख्छन्। विक्रम राठोर एक्लै होइनन्, उनीसँग ६ युवती पनि छन्। जसले उनलाई यो अपराधमा सघाउँछन्।

विक्रम राठौरको अगाडि काली गायकवाड छन्। उनले देशका सबैभन्दा ठूला हतियार व्यापारीलाई सामान बेच्छन्। उनले सेनाका सिपाहीलाई बन्दुक आपूर्ति गर्छन्।

काली गायकवाड एक ठूला व्यापारी हुन्। विक्रम राठोरसँग उनको पुरानो शत्रुता छ। आजाद, विक्रम राठौरका छोरा हुन्। यी दुवै पात्रमा शाहरुख खान आफैँ देखिएका छन्। अर्थात् फिल्ममा शाहरुख डबल रोलमा छन्।

विक्रम सिँह राठोर अर्थात् शाहरुख खानले भ्रष्टाचारी र कमिसनखोरीसँग बदला लिनु हो, फिल्मको मुख्य कुरो। जहाँ किसान आत्महत्याको चर्चा छ, कमजोर स्वास्थ्य प्रणालीको चर्चा छ, सही नेतालाई भोट दिने चर्चा पनि छ।

‘जवानमा’ शाहरुख एक्लो छैनन्, उनलाई सघाउन अरू ६ जना महिला आर्मी पनि छन्। उनीहरुविरुद्ध देशको सिङ्गो सुरक्षा फोर्स छ। तर, कथामा शत्रुता र प्रतिशोध मात्र छैन, शाहरुख र नयनताराको लभस्टोरी पनि छ।

अब जवानको कथामा लेडीआर्मी किन छन् ? शाहरुख अर्थात् विक्रम राठोर किन देशको शत्रु बने ? विक्रमका छोरा आजादले के गर्छन् ? यी प्रश्नको जवाफ पाउनको लागि फिल्महल जानुपर्ने हुन्छ।

साउथ मसलाको नक्कलमा शाहरुख

फिल्म शानदार बनाउने प्रयास गरिए पनि धेरै ठाउँमा चिप्लिएको छ। पहिलो ३० मिनेटसम्म दर्शकलाई कथाले बाँधेर राख्छ। तर त्यसपछि फिल्मको गति सुस्त छ।

बाहिर चर्चा भएअनुसार फिल्ममा एकपछि अर्को खतरा ट्विस्ट छैन। शाहरुख खान एकपछि अर्को अवतारमा देखा पर्छन्, तर त्यसले खासै हलचल मच्चाउँदैन।

निर्देशक एट्लीले फिल्मलाई उत्कृष्ट ढङ्गले बनाउने प्रयास भने गरेका देखिन्छन्। ‘रोमान्सका राजा’ शाहरुखलाई एक्सन फिल्ममा फिट गराएका छन्। सायद अझ शाहरुख खानलाई साउथको मसलासँग राम्रो तरिकाले प्रस्तुत गर्न सकिन्थ्यो। तर चुकेका छन्।

पीडित किसानको आत्महत्याको दृश्यलाई भावुक ढङ्गले खिचिएको छ। दर्शकको आँखामा आँसु आउँछ। फिल्ममा केही विषयलाई निकै मनोरञ्जनात्मक रूपमा देखाइए पनि केहीमा कमजोर प्रस्तुति छ। तैपनि फिल्मले किसान मजदुर तथा गरिबहरूको संवेदनशील मुद्दामाथि दरिलो हतियार उठाएको छ।

अभिनय र अरू पक्ष

फिल्ममा शाहरुख खानको अभिनय शानदार छ। फिल्मको सुरुमा १५ मिनेटसम्मको दृश्यमा हरेक संवादमा हलमा सिट्ठी बज्छ। त्यसपछि भने हल सुनसान हुन्छ।

नयनताराले पनि उत्कृष्ट अभिनय गरेकी छिन्। दीपिका पादुकोणको सानो भूमिका छ। तर पनि उनले आफ्नो प्रभाव छोडेकी छिन्। साउथका चर्चित अभिनेता विजय सेथुपती फिल्मका मुख्य खल पात्र हुन्। उनको दमदार अभिनय छ।

रिद्दी डोगरा र सान्या मल्होत्राको भूमिका सानो तर महत्त्वपूर्ण छ। उनीहरूले पनि राम्रो काम गरेका छन्। फिल्मको अन्त्यमा देखापर्ने सञ्जय दत्तजस्ता सरप्राइज फ्याक्टरले भने दर्शकलाई सोचेजस्तो रमाइलो दिन सक्दैन।

‘जवान’ को अर्को कमजोर पक्ष हो, गीत संगीत । किनकि कुनै पनि गीत त्यति आकर्षक छैनन्। गीत कमजोर भए पनि फिल्मको ब्याक ग्राउन्ड म्युजिकले भने रोमाञ्चक बनाउँछ। जिके विष्णुको छायांकन र रूबेनले सम्पादन भने अब्बल छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved