आलेख

जनजाति आन्दोलन शिथिल भयो होला, सिद्धिएको छैन

लोभ र स्वार्थले आन्दोलन अघि बढ्दैन । जनजाति आन्दोलनको समस्या नै यसका नेता र अभियन्ताहरूको डर र लोभ हो । यसबाट मुक्त हुने हो भने यो आन्दोलनको विजयलाई कसैले रोक्न सक्दैन ।

जनजाति आन्दोलन शिथिल भयो होला, सिद्धिएको छैन

स्याङ्जामा एउटा गाउँ छ— नौडाँडा । खच्चर बास बस्ने गाउँका रूपमा प्रसिद्ध छ त्यो । उहिले सडक यातायात सुरुवात नहुँदा समान ढुवानी गर्न खच्चर प्रयोग हुन्थे । साँझ मालिकले खच्चर नौडाँडामा बास बसाउँथे । खच्चर खेदाउनेहरूको बास बस्ने ठाउँ थियो त्यो ।

त्यो बेलाको कथा हो यो । साँझ मालिकले खच्चरका खुट्टा डोरीले बाँधिदिन्थे । राति खच्चरहरू नभागून् वा नछरिऊन् भनेर । एकदिन खच्चरका खुट्टा बाँध्दा-बाँध्दै डोरी सकिएछ । एउटा खच्चरको खुट्टा बाँध्न पुगेन रहेछ । के गर्ने ? मालिकको मनमा जुक्ति आएछ । डोरी नपुगेको खच्चरको खुट्टा बाँधेजस्तो अभिनय गरेछ । अर्को खच्चर बाँधेको डोरीको फुर्को ल्याएर त्यसको खुट्टामा छुवाइ दिएछ ।

भोलिपल्ट बिहान भयो । सबै खच्चरका खुट्टाको डोरी फुकाइयो । सबै हिँडे । तर, डोरी नपुगेको खच्चर ठिङ्ग उभिइरह्यो, हिँड्दै हिँडेन । कोर्रा हान्दा पनि हिँडेन । किन हिँडेन ? मालिक एकछिन छक्क पर्‍यो । तत्काल फेरि उसको दिमागमा जुक्ति आयो । उसले खच्चरको डोरी फुकाइदिएजस्तो अभिनय गर्‍यो । त्यसपछि मात्रै खच्चर हिँड्यो ।

नेपालको जनजाति आन्दोलनको कुरा गर्दा मलाई यो कथा याद आउँछ । यहाँ जनजाति आन्दोलनलाई पनि बुद्धिजीवीहरूले, अझ खस-आर्य समाजकै बुद्धिजीवीहरूले डोरी फुकाइदिएजस्तो गर्दिनुपर्ने विडम्बना छ । यो स्थितिबाट मुक्ति नपाउन्जेलसम्म जनजाति आन्दोलनले सही मार्ग र गति पक्रिन सक्दैन ।

आज आदिवासी जनजातिले मान्ने चाडपर्व, संस्कृति कमजोर भए भन्ने कुरा उठ्छ । त्यसो हुनुको कारण छ । ती चाडपर्व टेलिभिजनका देखिन्नन् । रेडियोमा सुनिन्नन् । हाम्रा नानी-बाबूले पढ्ने विद्यालयदेखि कलेजका किताबमा हुँदैनन् । राज्य, राजनीति, सरकार र बजार प्रक्रियाभित्र ती मान्यताप्राप्त छैनन् । अनि त्यसको रक्षा, विकास र विस्तार कसरी हुन्छ ? यो टड्कारो प्रश्न हो ।

टोटे पर्व के हो ? हाम्रा नानी-बाबूले पढ्न पाउनुपर्ने कि नपर्ने ? मगर समुदायका बालबालिकाले मनहरि बराजुको बारेमा कहाँबाट जान्लान् ? मनहरि बराजुको पूजा नेपाल टेलिभिजनले देखिने कि न देखिने ? हामी कहीा देखिँदैनौँ । यसको अर्थ हो— हामी छैनौँ । जनसङ्ख्याको हिसाबले छौँ तर, राज्यमा छैनौँ ।

जनजाति, आदिवासीको अवस्था भनेको प्याजको डल्लाजस्तो छ । प्याजको एउटा बोक्रा निकाल्यो भने आँसु आउँछ, अर्को कोट्याउँदा पनि आँसु नै आउँछ । टेलिभिजन हेर्‍यो, आदिवासी, जनजाति छैन । धर्म, देवी, देवता मन्दिर हेर्‍यो, हाम्रो मान्छे छैन । राजनीतिक दल हेर्‍यो, मूल ठाउँमा हाम्रो मान्छे छैन । जिल्लाबाटै हेर्न थाल्नुस्, प्रदेश हेर्नुस्, अनि केन्द्र हेर्नुस् । देशका मूल पार्टी, कांग्रेस, एमाले, माओवादीमा मूल नेताको छन् ? तपाईं हाम्रो-अनुहारका मान्छे कति छन् ? अनि जता हेर्‍यो, उसै आँसु आउने अवस्था होइन यो ?

जनजाति आन्दोलनलाई ‘जातीय आन्दोलन’ भन्ने गरिन्छ । खासमा जातीय को छ त ? हाम्रो परिपाटी, राज्य र राजनीतिक दलहरू एकल जातीय छन् कि यो आन्दोलन जातीय हो ? जातीय त्यस्तो परिपाटी बनाउने, चलाउनेहरू हुन् कि जातीय तपाईं हामी ?

जनजातिले आफ्नो भाषा, संस्कृति र पहिचानको कुरा गर्दा सद्भाव भट्किन्छ भन्ने गरिन्छ । सद्भाव भनेको के हो ? के यो एकहोरो हुन्छ ? कसैले वर्षौँदेखि दमन र शोषण गर्दा सद्भाव भड्किँदैन ? चुपचुप बस्यो भने केही हुँदैन, सद्भाव हुन्छ । तर, जब मेरो भाषा खै ? मेरो संस्कृति खै, मेरो धर्म खै भनेर प्रश्न गरिन्छ, तब सद्भाव भड्किन्छ ? यो कस्तो सद्भाव हो ?
के हाम्रो समस्या रुवान्डाजस्तो हो र ? हामी हुतु र तुत्सीजस्तो हौँ र ? जनजाति आन्दोलनले मणीपुर बनाएको छ ? हामी मैतेइ र कुकीजस्तो हौँ र ? नेपालको जनजाति आन्दोलनले रोजेको, खोजेको बाटो त्यस्तो हो र ? हैन भने त्यस्तो डर किन देखाइन्छ ?

आदिवासी, जनजाति बडो शान्तिप्रिय जाति रहेछ । आदिवासी, जनजातिले नदेखेको, नबुझेको हैन । कसरी भाषिक, सांस्कृतिक दमन भएको, कसरी बञ्चित र किनाराकृत गरिएको छ, सबै थाहा छ तर, जति आदिवासी जनजाति समुदाय सुषुप्त भएर चुपचाप बसेको छ । यसले न शान्ति खल्बल्याएको छ, न सद्भाव नै । हामी साँच्चै शान्तिप्रिय छौँ ।

संविधानसभाको चुनाव गरेर नयाँ संविधान किन बनाउन पर्‍यो ? किनकि मान्छे अस्तित्व र सहभागिता खोज्यो । नेपाल भनेको मधेश पनि हो, कर्णाली पनि हो भन्ने कुरा उठ्यो । राज्य भनेको पुरुष मात्रै हैन, महिला पनि हो, कथित उच्च जात मात्र हैन, दलित पनि हो भन्ने कुरा उठ्यो । खासमा संविधान सभाको चुनावको खास कारण यो हो ।

पहिलो संविधानसभाको राज्य पुनर्संरचना समितिमा पहिचानको कुरा, सामर्थ्यको कुरा उठेको थियो । त्यही भएर पहिलो संविधानसभालाई तुहाउने काम गरियो । यदि पहिलो संविधानसभा सफल भएको भए आदिवासी, जनजातिले अहिलेको भन्दा केही अधिकार पाउँथे होला । पहिलो संविधानसभा तुहाउनुको मुख्य कारण नै राज्य पुनर्संरचना गर्दा आदिवासी, जनजाति समुदायले पहिचान नपाओस् भनेर हो।

पहिचान भनेको जातीय हो भनेर जोडतोडले कुरा उठ्यो । मलाई रेडियो नेपालको एउटा पुरानो विज्ञापन याद आउँछ । शेर्पा साबुनको । शेर्पा साबुन भनेको शेर्पाले मात्र नुहाउने हो र ? त्यस्तो त हैन । जातीय समुदायको नाममा प्रदेशको नामाकरण गर्‍यो भने त्यही जाति मात्रै बस्न मिल्छ भन्ने कुरा शेर्पा साबुनले शेर्पाले मात्रै नुहाउँछ भन्ने बुझे जस्तो भएन र ?
पहिचानको प्रश्न ऐतिहासिक मानव समुदायहरूको मान्यता र सहभागिताको प्रश्न हो, जातीयताको हैन । ढुंगाको नाममा नाम राख्न हुन्छ, खोलाको नाममा नाम राख्न हुन्छ । पहाड र हिमालको नाममा नाम राख्न हुन्छ, ऐतिहासिक मानव समुदायको नाममा नाम राख्न हुँदैन, यो कस्तो सोच हो ?

एकपटक सबै पार्टीभित्रका जनजाति नेताहरू अघि आए । जनजाति आन्दोलन बलियो जस्तो देखियो । आवश्यक परे विद्रोह गर्नुपर्छ भन्ने कुरा उठ्यो । तर, निर्णायक बेलामा ती सबै पछि हटे । हिच्किचाए । एमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ हिच्किचाए । कांग्रेसका आईबी गुरुङहरू हिच्किचाए । माओवादीका वर्षामान पुनहरू हिच्किचाए । यसरी पहिलो संविधानसभा तुहाउन सहज भयो ।

दोस्रो संविधानसभाबाट आएको संविधानमा दुईवटा कुरा महत्त्वपूर्ण छ, जनजाति आन्दोलनको दृष्टिकोणबाट । पहिलो—  संघीयता । यो नाम मात्रको छ । दोस्रो— धर्मनिरपेक्षता । यो पनि घुमाउरो पारामा ‘सनातन धर्म, संस्कृतिको रक्षा’ को नाममा पुरानै मान्यतातिर ढल्केको छ ।

अहिले देशमा तीन तहको सरकार छ । केन्द्रको मात्र किन प्रदेश र स्थानीय सरकारहरूको बजेट हेर्नुस हरेक वर्ष हजारौं मन्दिरको निर्माण सरकारी बजेटबाट हुन्छ । तर, आदिवासी, जनजातिका देवीदेवताको थान के भए ? कस्तो अवस्थामा छन् ? कसैलाई थाहा छैन । कसैलाई मतलब छैन । यस्तो कुरामा सबै पार्टी मिल्छन् । यो पार्टीपार्टीको भिन्नता पनि केही हैन रहेछ । जब सभ्यता र संस्कृतिको कुरा आउँछ, तब एउटै थरगोत्रकाहरू जुनसुकै पार्टीमा भए पनि सबै पार्टीका तुरुन्तै मिलिहाल्छन् ।

अचम्मको कुरा; भीम रावल पहिचान विरोधी पार्टीमा थिए, लेखराज भट्ट पहिचानका लागि आन्दोलन गरेको पार्टीमा थिए । तर, ती निर्णायक बेलामा दुवै मिले । दुवै आदिवासी, जनजातिलाई पहिचान दिनुहुँदैन, अखण्ड सुदूरपश्चिम हुनुपर्छ भन्नेतिर लागे । उनीहरूको पार्टी, विचार र एजेण्डा नै फरक थियो, मिल्न नहुने थियो नि तर, खै त ?

आदिवासी, जनजाति आन्दोलनमाथि कुठाराघात यही समुदायभित्रका नेताहरूले पनि गरेका छन्, हामीले पनि गरेका छौँ । एकपटक यस्तो भयो, एमाले-कांग्रेस सबै छोडेर भिन्नै पार्टी बनाउने भन्ने भयो । अशोक राई, कुमार राई, चैतन्य सुब्बा, पाशाङ शेर्पा सबै एक हुने भन्ने भयो । साथीहरूले आ-आफ्नो पार्टी छोडे पनि छ तर, फेरि संकीर्णता । जे छोडेको भनेको हो, त्यही समातेर झगडा गर्न थाले । भिन्नाभिन्नै पार्टी बनाए । नयाँ पार्टी बनाउने भनेर आएको छ । कांग्रेस-कम्युनिष्ट भन्दै पृष्ठभूमिको झगडा गरेको छ ।

अन्त्यमा दुई वटा पार्टी बने । संघीय समाजवादी र समाजवादी लोकतान्त्रिक । हानथाप र लुछाचुँडीको शृङ्खला उस्तै देखियो । त्यो कारणले भिन्नै पार्टी बन्न सकेन । पार्टी बन्यो भने अधिकार प्राप्त हुने रहेछ । पार्टी बनेन भने उही संस्कृति र भेषभूषाको प्रदर्शनमा मात्रै हामी रुमलिने रहेछौँ । मधेशले किन प्रदेश पायो ? किनकि त्यहाँ तराई कांग्रेसदेखि राजनीतिक दलको परम्परा थियो ।

आज जनजाति आन्दोलनले यो सोच्न परेको छ । हाम्रो आन्दोलनको गन्तव्य के हो ? बेला-बेला चाडपर्वमा संस्कृति र भेषभूषा प्रदर्शन गर्ने मात्रै हो कि राजनीतिक हस्तक्षेप पनि गर्ने हो ? शोषित भएको गुनासो गर्दै बस्ने हो कि शासनमा सहभागिता र साझेदारी गर्ने हो ? के हामी वर्षमा एक दिन टुँडिखेलमा जम्मा भएर प्रचण्ड आए प्रचण्डलाई, देउवा आए देउवालाई, केपी ओली आए ओलीलाई फेटा गुथाइनेदिने, त्यसैमा मख्ख परेर ताली बजाउनेहरू मात्र हौँ । यही हो आदिवासी जनजाति आन्दोलनका उद्देश्य र गन्तव्य ? अब सोच्नुपर्छ ।

हामीले खोजेको यो हैन । हामीले खोजेको एक थोक छ, गर्दैछौँ अर्कै । आदिवासी जनजाति आन्दोलन हाम्रो पुस्ताले मात्रै गरेको हैन । यो त हाम्रा पुर्खाले पनि लामो समयदेखि गर्दै आएका हुन् । इतिहासमा बेला-बेला विद्रोह पनि भए । तर, यसले सही नेतृत्व, संगठन र कार्यदिशा प्राप्त गर्न नसक्दा उपलब्धि सीमित भए । जनजाति आन्दोलन कहीँ कतै रुमलियो । जुलुस नारा, भाषण, गोष्ठी, सेमिनार कम भएका हैनन् । तर, उपलब्धि किन भएनन् ? यो सोच्नुपर्ने कुरा हो । गम्भीररूपमा सोच्नुपर्छ ।

यो त ‘के सोचेँ मैले, के भयो अहिले’ भन्ने गीतजस्तो भयो । आज पनि देश १९१० को जंगबहादुरको मुलुकी ऐनले चलेजस्तो लाग्छ । हाम्रो संविधानमा एउटा ठूलो विडम्बना छ । संविधानमै खस-आर्यको परिभाषा छ तर, अरु कसैको छैन । राज्यले अरुलाई पनि, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक सबैलाई चिनोस् भनेर दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान बनाएको हो तर, नयाँ संविधानमा पनि खस-आर्यको परिभाषा हुनु अरु कसैको नहुनु विडम्बना हैन ।

यसको अर्थ हामी रेडियो, टेलिभिजन, पत्रपत्रिकामा मात्र हैन, संविधानको किताबमा पनि छैनौँ । त्यसैले मान्छे भन्छन्— देश मेरो हो, तर, राज्य मेरो हैन ।

हुनुचाहिँ के पर्थ्यो ? संविधानमा एउटा अनुसूची राखेर सबै समुदायको नाम त्यहाँ हुन पर्थ्यो । अहिले पनि हामी सबै कुनै न कुनै पुरानै पार्टीमै छौँ । पार्टीको अङ्कुश छ हामीमाथि । त्यसले नियन्त्रण गर्छ हामीलाई । पार्टीको लगामले निर्णायक बेलामा हाम्रो मुख बन्द गरिदिन्छ ।

जनजाति आन्दोलन सफल बनाउने हो भने पार्टीहरूको अङ्कुशबाट बाहिर निस्कनपर्छ । ‘तिम्रो समानुपातिकको सूची, तिम्रो निगाहले प्राप्त हुने सांसद, पद, राजनीतिक नियुक्तिमा तिम्रै नै राख’ भन्ने आँट गर्नुपर्छ हामीले ।

हैन भने यस्तै हो । लोभ र स्वार्थले आन्दोलन उठ्दैन, अघि बढ्दैन । जनजाति आन्दोलनको समस्या नै यसका नेता र अभियन्ताहरूको डर र लोभ हो । यसबाट मुक्त हुने हो भने यो आन्दोलनको विजयलाई कसैले रोक्न सक्दैन । अहिले यो आन्दोलन केही शिथिलजस्तो देखिएको अवश्य हो तर, सिद्धिएको छैन । आदिवासी जनजाति आन्दोलन नयाँ ढङ्गले उठाउनुपर्छ, उठ्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved