बङ्गलादेशमा ‘जबर्जस्ती बेपत्ता पारिएको’ विरोधमा हजारौं व्यक्तिद्वारा प्रदर्शन

नेपालभ्युज

बङ्गलादेशमा ‘जबर्जस्ती बेपत्ता पारिएको’ विरोधमा हजारौं व्यक्तिद्वारा प्रदर्शन

ढाका ।  बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनकालमा सुरक्षा फौजले करिब सात सय व्यक्तिलाई अपहरण गरी वेपत्ता पारेको भन्दै हजारौंले बुधबार प्रदर्शन गरेका छन् ।

विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का समर्थक र सहयोगीले बेपत्ता पारिएकाको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रदर्शन गरेका हुन् ।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै बेपत्ता भएकामध्ये केही युरोप पुग्ने क्रममा भूमध्यसागरमा डुबेको बताएको छ ।

जनवरीको अन्त्यसम्ममा बङ्गलादेशमा राष्ट्रिय चुनाव हुँदैछ, तर अधिकारवादी समूह र विदेशी सरकारले लामो समयदेखि हसिनाको सरकारले आलोचना र राजनीतिक असहमति दबाउन प्रयास गरिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

“म सामान्य डराएको मात्र होइन । हरेक दिन जब म उठ्छु, एकदम त्रसित हुन्छुु,” बीएनपीका एक अधिकारी हुमाम कादिर चौधरीले भने ।

उनले आफूलाई सुरक्षा फौजले सात महिनादेखि हिरासतमा राखेको बताएका छन् ।

केही पहिले चौधरीले राजधानी ढाकामा उनको पक्षमा प्रदर्शन गर्ने समूहका नेतासँग भनेका थिए, “म हिरासतमा रहेकै समय टेलिभिजनमा एक वरिष्ठ अधिकारीले आफू हिरासतमा रहेको कुरा अस्वीकार गरेको देखेको छु ।”

आफ्ना हराएका बुबा, विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेमको फोटो बोकेर उभिएकी दश वर्षीया मरियम बुशराले भनिन्, “म मेरो बुबाको फिर्ती चाहन्छु,” ।

मानव अधिकार अनुगमन (एचआरडब्ल्यू) समूहका अनुसार सन् २००९ मा प्रधानमन्त्री हसिना सत्तामा आएयता सुरक्षा फौजले ६०० भन्दा बढीलाई ‘जबर्जस्ती बेपत्ता’ पारिसकेको छ र करिब १०० जनाको अवस्था अज्ञात छ ।

अन्यलाई पछि रिहा गरिएको, अदालतमा पेश गरिएको वा सुरक्षा बलसँगको सशस्त्र आदानप्रदानका क्रममा मृत्यु भएको बताइएको एचआरडब्ल्यूले जनाएको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved