राष्ट्रपति पौडेल र महासंघ कार्यकारिणी समितिबीच भेटवार्ता

नेपालभ्युज

राष्ट्रपति पौडेल र महासंघ कार्यकारिणी समितिबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले भने,  “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र सम्भावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ।”

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारे। “रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामञ्जस्य नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेलामा विध्य बाधा देखा पर्ने गरेका छन्। यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजनिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ”, उनले भने।

उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए। उनले भने – “धेरै राजनीतिको तानावान्मा नअल्झीकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु।” राष्ट्रपति पौडेलले महासङ्घसँग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केही ढिला सम्भव भएको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहे पनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए।

भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैङ्क र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताए।

सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैङ्क वित्तीय संस्थाहरूबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ। यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो।

व्यवसाय शत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ। तर व्यवसाय दुई तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व सङ्कलन भएको छ। यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ। त्यसैले पुँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो।

यसै गरी, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन गर्न, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धन विशेष पहल आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved