एनओसी नलिई भारतीय सीमावर्ती कलेजमा नर्सिङ पढ्नेले मान्यता नपाउने

नेपालभ्युज

एनओसी नलिई भारतीय सीमावर्ती कलेजमा नर्सिङ पढ्नेले मान्यता नपाउने

काठमाडौं। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिई भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिईकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्बद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मङ्गलबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गरे ।

उनले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभावकारिता नदेखिँदा अभिभावक र विद्यार्थीहरू अन्योलमा परेको बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताए । उनले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै तीमध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताए ।

अधिकारीले आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेको बताए । उनले आयोगले सीटीईभीटी र विश्वविद्यालयको सम्बन्धन लिएको कलेज चलाउन नपाइने र फुटाउनुपर्ने भनेर अपव्याख्या गरेको बताए । कार्यक्रममा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशय पत्र भन्ने व्यवस्था नै नरहेको बताए । उनले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरूलाई राज्यले पेल्न खोजेको बताए ।

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा टकराब हुँदा नर्सिङ शिक्षामा समस्या सिर्जना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved