पशुपंक्षीसँग सम्बन्धित निकायमा बजेट शुन्य भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

नेपालभ्युज

पशुपंक्षीसँग सम्बन्धित निकायमा बजेट शुन्य भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक
सांकेतिक तस्वीर

काठमाडौं । सरकारले पशुपंक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शुन्यमा पुर्‍याएको भन्दै पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले बजेट वक्तव्यमार्फत पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताए । उनले सरकारले यो विषम समयमा पशुपंक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनुयोजित ढंगबाट निर्णय गरेको बताए ।

उनले किसानहरुको खर्बौको क्षति हुँदापनि पशुपंक्षीको रोग नियन्त्रण र उपचारमा सकृय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शुन्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताए।

उनले पशुपंक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरिपनि नेपाललाई दुध माछा, मासु र अण्डाको डम्पिङ साईड बनाई नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बताए । उनले  सोमबार मंगलवार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए।

भोलि सोमवार र पर्सी मंगलवार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौँ,  ६ देखि १० गतेसम्म सरकारी निकायबाट प्रदान गरिने आवश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी पेन डाउन, जुलुस धर्ना र दबाबका कार्यक्रम गर्ने’ उनले भने,  ‘११ गतेपछि जिम्मेवार निकायका प्रमुखहरुको राजीनामा माग गर्ने, आवश्यक सेवा सहित सम्पूर्ण भेटेरिनरी सेवाहरु बन्द(निकासी पैठारीका लागि क्वारेन्टाईन प्रमाणपत्र तथा भेटेरिनरि प्रमाणपत्र जारी बन्द आयात निर्यात सिफारीस बन्द, सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरीने सम्पूर्ण सेवा बन्द) गर्ने, सिंहदरवार घेराउ तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेका छौं । ’

नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ (नेल्टा) का केन्द्रिय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताए । उनले नेपालको पशुपंक्षी क्षेत्रको विकासमा सरकार संवेदनशिल नबनेको बताए । रावलले किसानहरु लम्पी स्किन रोगका कारण मारमा पर्दा समेत सरकार मुकदर्शक बनिरहेको बताए ।

रावलले भने, ‘बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको छ । त्यो बजेट वक्तव्यका कारणले पशु सेवा क्षेत्रका करिव ३० वटा कार्यालयहरु शुन्य बजेटमा झरेको अवस्था छ । लम्पी स्किन डिजिजका कारण देश आक्रान्त छ किसानहरु मारमा छन् । सरकार मुकदर्शक भएर बसिरहेको छ ।’

‘हामीले सरकारलाई आग्रह गर्‍यौं, यो प्रकृयाले नेपाली पशुपालक किसानको विकास हुँदैन । हामीले यो प्रकृया सच्याउनुपर्छ भनेर सरकारलाई पटकपटक आग्रह गर्‍यौं । तर, सरकार कानमा तेल हालेर सुतेको सुत्यै भयो । नेपालको पशुपालन क्षेत्रलाई विकास गर्न सकेनौं भने मुलुक समृद्धीको दिशातर्फ जाँदैन, उनले भने ।’

सरकारले खारेजी तथा पुनःसंरचनाको नाममा शुन्य बजेट भएका सम्पूर्ण पशुपंक्षी निकायहरुमा विद्यमान संरचना अनुसार चालु आर्थिक वर्षको बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved