ओलीले दिने अभिव्यक्ति बीभत्स, र घृणास्पद : घनश्याम भुसाल

नेपालभ्युज

ओलीले दिने अभिव्यक्ति बीभत्स, र घृणास्पद : घनश्याम भुसाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन् ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

महासचिव भुसालले भने, ‘अहिले इतिहासको कुरा गर्दा खेरी, हुन त यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दा खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । जतिखेर मिलिन्छ, त्यतिखेरचाहिँ यो महान् कुरा थियो भन्ने । जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतङ्ककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदा खेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

महासचिव भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved