युएईको अवुधाबीमा २५ नेपाली कामदार बन्धक (सूचीसहित)

सेवा सुविधा नदिएर राजीनामा दिन दबाब, दूतावासले नसुनेको श्रमिकको गुनासो

युएईको अवुधाबी मुसफास्थित अल फलाह सेक्युरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी सर्भिस कम्पनीले ती नेपाली कामदारलाई सेवा सुविधाबाट वञ्चित गरेर बन्धक अवस्थामा राखेको हो।

नेपालभ्युज

युएईको अवुधाबीमा २५ नेपाली कामदार बन्धक (सूचीसहित)

काठमाडौं। वैदेशिक रोजगारीका लागि युएईको अवुधाबी पुगेका २५ जना नेपाली कामदारलाई त्यहाँको एक कम्पनीले बन्धक बनाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) को अवुधाबी मुसफास्थित अल फलाह सेक्युरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी सर्भिस कम्पनीले ती नेपाली कामदारलाई सेवा सुविधाबाट वञ्चित गरेर बन्धक अवस्थामा राखेको हो।

सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली कामदारलाई विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको अवुधाबीबाट केही दिन अघि मात्र नेपाल आएका पासाङ वाईबाले नेपाल भ्युजलाई बताए।

उनका अनुसार १२ वर्ष अघिदेखि काम गरिरहेका नेपालीलाई काम छाडेर स्वदेश फर्किँदा दिनुपर्ने सामाजिक सुरक्षाबापतको ठुलो रकम नदिइकन बन्धक बनाइएको छ।

२५ नेपालीले विभिन्न सेवा सुविधाको करिब पौने तीन करोड (७,५८,९३९) दिराम रकम भुक्तानी पाउनुपर्नेछ।

यी हुन् बन्धकमा परेका २५ नेपाली कामदार

सेवा सुविधाबाट वञ्चित गर्दै गैरकानुनी रूपमा बन्धक बनाइएका नेपालीहरूमा दिनेश उप्रेती, देवप्रसाद पुलामी, शिवराम गिरी, सुशील लामिछाने, पासाङ लामा, प्रितम थापामगर, इन्द्रबहादुर बस्नेत छन्।

यस्तै कृष्ण बहादुर विश्वकर्मा, प्रदीप विष्ट, उज्ज्वल रेग्मी, समित सिंह, डिकबहादुर कार्की, मीन कुमार राई छन्।

दिलानन्दसिहं धामी, रेशमबहादुर मगर, सन्तोष थापा, सुरेन्द्र बुढाथोकी, आत्मराम भण्डारी, किशोर शाही, विवेक शिवा, मिनराज गिरी, राजेश भट्ट, विक्रम पन्त र विशाल क्षेत्री पनि हुन्।


सेवा सुविधा नदिएर बन्धक बनाइएका नेपालीहरू

सेवा सुविधा नदिई बन्धक

काम गरेबापत पाउनुपर्ने तलब, ओभरटाइम भत्ता र ईन्ड अफ सर्भिस (उपदान)को रकम समेत नदिएको पीडितहरूको गुनासो छ।

हालै नेपाल आएका वाईवाले भने, ‘‘कम्पनीमा १२ वर्ष अघिदेखि काम गरेका नेपालीहरू छन्। उनीहरूले काम छोडेर स्वदेश फर्किँदा सामाजिक सुरक्षाबापत पाउनुपर्ने रकम ठूलो परिमाणमा छ।

भिसा सकिएर डेढदेखि दुई वर्षसम्म पनि भिसा रिन्यू नगरिएका २५ जना नेपाली श्रमिकलाई कम्पनीले बन्धक बनाएर त्यहीँ राखेको छ। उनीहरूले विभिन्न सुविधाको करिब पौने तीन करोड (७,५८,९३९) दिराम रकम भुक्तानी पाउनुपर्ने छ।’’

अल फलाह र नाइट्सब्रिज कम्पनीले नेपाली कामदारलाई विभिन्न समयमा राजीनामा दिन बाध्य पारेका थिए। १० महिनादेखि विभिन्न बहाना र झूठो आश्वासन दिई अवुधाबीको वेस्ट बानियास, अल मफ्रक, चाईना क्याम्प, वर्कर सिटी– २ स्थित अल ईशोस भिलेज क्याम्पमा बन्धक बनाएको पीडितको गुनासो छ।

बन्धक बनाइएकाहरू अधिकांशको भिसाको अवधि सकिएका छन्। जसकारण ‘ओभर स्टे’ भएर क्याम्प बाहिर हिँडडुल गर्न नपाउने अवस्थामा छन्। पीडित नेपालीहरूले आफूहरूले पाउनुपर्ने रकम दिलाउन मागसहित अवुधाबीस्थित नेपाली दूतावासमा अगस्ट ३ तारिखमा पुनः निवेदन दिएका छन्।

‘‘हामी विगत १० महिनादेखि बेरोजगार भई क्याम्पमा बन्दी बस्नुपरेको छ। यसरी बस्दा मानसिक आघात, फ्रस्ट्रेसन, डिप्रेसनको सिकार बनेका छौँ। यहाँ आएर आर्थिक उपार्जन गरी घर व्यवहार धान्नुपर्ने हाम्रो जिम्मेवारी कम्पनी कै लापरबाही र बेवास्ताका कारण भताभुङ्ग बनेको छ। त्यसैले राजदूतसँग हामीले पाउनुपर्ने सम्पूर्ण इन्ड अफ सर्भिस रकम र १० महिनासम्म विनाकाम क्याम्पमा बन्दी बनाई राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाई दिन पूर्ण आशाका साथ सविनय अनुरोध गर्दछौँ,’’ बन्धक बनाइएका श्रमिकले युएईस्थित नेपाली राजदूतलाई बुझाएको निवेदनमा उल्लेख छ।

बन्धक बनाइएका श्रमिकले युएईस्थित नेपाली राजदूतलाई बुझाएको निवेदन

अल फलाह र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी कम्पनीले दुबईमा दर्ता गरेको कम्पनी जाएद फलाह हामुद जराह अल कतानीले चलाइरहेको छ। दुवै कम्पनी योजनावद्ध रूपमा बन्द गराइ भाइको नाममा अर्को नयाँ सेक्युरिटी कम्पनी नाइट्सब्रिज ग्लोबल सेक्युरिटी अवुधाबीमा दर्ता गरेका छन्।

पुरानो कम्पनीमा काम गरिरहेकाहरूलाई दिनुपर्ने तलबभत्ता नदिई नयाँमा काम गर्न दबाब दिन थालिएको छ। सेवा सुविधा दिन नपर्ने बहानाको लागी अर्को कम्पनी खडा गरिएको छ।

नेपाल आएका वाईवाका अनुसार नयाँ कम्पनीमा काम सुरू गर्न अल फलाहमा काम गर्ने श्रमिकहरूसँग भिसा बापत प्रति व्यक्ति ४५ सय दिराम (१ लाख ६२ हजार रुपैयाँ) जबरजस्ती तिर्न भनिएको छ।

उपदानबापतको रकम नलिई नयाँ कम्पनीमा आबद्ध नहुने भए राजीनामा गर्न दबाब दिइँदै आइएको छ। कम्पनीको दबाबकै कारण बाध्यतावश राजीनामा दिएको नेपाली श्रमिकको भनाइ छ। सो कम्पनीमा नेपालीबाहेक पाकिस्तान, फिलिपिन्स, भारत लगायतका मुलुकका डेढ सयको हाराहारीमा श्रमिक छन्।

भिसा अवधि सकियो

बन्धक बनाएर राखिएका नेपाली श्रमिकहरू मध्ये अधिकांशको भिसा अवधि सकिसकेको छ। कम्पनीले डेढदेखि दुई सालसम्म पनि भिसा रिन्यू प्रक्रियालाई अगाडी नबढाईदिँदा नेपाली श्रमिकहरू पूर्ण रूपमा ईलेगल बनेको र कुनै पनि बेला स्थानीय प्रहरीद्वारा पक्रेर जेल हाल्न सक्ने देखिन्छ।

यस अगाडि सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको हस्ताक्षर सहितको पत्र बुझाउँदै आफूहरूले पाउनुपर्ने रकम दिलाइ दिन आग्रह गरेका थिए।

अबुधाबी, युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले सो कम्पनीमा काम गरेका र रकम नदिइएका नेपालीहरूलाई न्याय दिलाउन दूतावासले निरन्तर प्रयत्न गरिरहेको बताएका थिए। तैपनि अहिलेसम्म नेपाली श्रमिकहरूको पक्ष र हितमा अहिलेसम्म कुनै प्रकारको सुनुवाइ भएको छैन।

नेपालीलाई अन्यायपूर्वक कामबाट निकाल्ने र तलब नदिने यस नाईट्स्, ब्रिज ग्लोबल सेक्युरिटी सर्भिसेस कम्पनीमा नेपालबाट बाँकी कामदार जान रोक्न माग गरिएको थियो।

तैपनि नेपाली दूतावास अबुधाबी, युएईका कर्मचारीकै लापरबाहीका कारण नयाँ ८ जना नेपाली श्रमिकहरू केही दिन अघि मात्रै सो कम्पनीमा काम गर्न पुगेका छन्।

नेपाली दूतावास, अबुधाबी, युएईका कर्मचारीहरूकै सो कम्पनीको कर्मचारीहरूको कमिसनका प्रलोभनमा परेर नेपालीलाई जान नरोकिएको हुनसक्ने आशङ्का छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved