चुनावमा मलाई कसरी हराउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

नेपालभ्युज

चुनावमा मलाई कसरी हराउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भनेर लागेको दाबी गरेका हुन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरू प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरू निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भने । चौधरी ४ मंसिरमा भएको चुनावमा नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरू, पढेलेखेका, देशबाहिर रहेका युवाहरूले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।

नयाँ पार्टीहरूले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उनले सुनाए ।

उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भए पनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाए । ‘राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन्’, चौधरीले भने

मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको उनले सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved