लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई विभागको आग्रह

नेपालभ्युज

लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई विभागको आग्रह

काठमाडौँ । पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ । संक्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले शुक्रबार विज्ञप्ति जारी गर्दै लम्पी स्कीन रोग फैलिदैं गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन् । विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा रु एक लाख अनुदान उपलब्ध गराएको छ ।

विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिइन् । विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन् ।

सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार आठ सय १९ पशु निको भइसकेका जनाइएको छ । अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन् । रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ ।

उनले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनका अनुसार अहिले क्रमश सङ्क्रमण घट्दै गइरहेको छ । सङ्क्रमणबाट प्रभावित एक लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि विभागसँग हालसम्म सात लाख ३७ मात्रा खोप आयात गरिएको छ ।

लम्पी स्कीन गाईभैँसीमा भाइरसको कारणले लाग्ने महामारी रोग हो । यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोला गिर्खा तथा गाँठाहरु देखिने, र्याल सिँगान वग्ने, चिप्रा÷कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निनेजस्ता लक्षण देखा पर्दछन् । यस रोग बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दूधालु र गर्भिणी गाईभैँसीलाई असर गर्ने गर्दछ ।

लम्पी स्कीन नेपालमा पहिलो पटक २०७७ असारमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकामा देखिएको थियो । रोग देखिएको दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा रोग फैलिदा तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ पशु परेका थिए । अहिले देखिएको सङ्क्रमणबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशकामध्ये पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन् ।

विभागले सङ्क्रमण नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोेकेको छ । रोग नियन्त्रण गर्नका लागि एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापन आगामी आर्थिक बर्षको बजेटबाट गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved